विप्लवले गर्यो जेठ १३ गते नेपाल बन्दको घोषणा


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको भन्दै नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले देशलाई गृहयुद्धमा धकेल्न खोजेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सांगठानिक कामको सिलसिलामा गत मंगलवार भोजपुर र खोटाङको सीमानामा केपी ओली सरकारको ठाडो आदेशमा हाम्रो युवा संगठनका नेता घिमिरेलाई सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तका नाममा हत्या गरेको छ । केपी–पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध रूपमा गृहयुद्धमा धकेल्ने कुचेष्टा गरिराखेको छ ।’

आफ्नो पार्टीले प्रतिरोध गर्नुको कुनै विकल्प नरहेको भन्दै विप्लवले भनेका छन्, ‘उक्त कार्यक्रमलाई उद्योग व्यवसायी, यातायातकर्मी, शिक्षण संस्थान लगायतका सबैले एक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न पनि अपिल गरिन्छ ।’

विप्लवले जारी गरेको विज्ञप्तिमा जेठ १० र ११ गते भण्डाफोर र कोणसभा, १२ गते देशव्यापी मसाल जुलुस र १३ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement