विप्लवले बाटो नसच्याए सरकारले तह लगाउंछ :प्रधानमन्त्री ओली


विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादीले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी दिएका छन्। अवैध हतियार बुझाउन दुई दिन अघि ३५ दिने सूचना जारी गरेको सरकारले निर्धाति समयमा ती हतियार नबुझाएमा आफै हस्तक्षप गर्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओली मोरङ पुगेर आइतबार सरकारद्वारा पाँच दिन अघि प्रतिबन्धित ‘विप्लप’ समूहलाई लक्षित गर्दै तोकिएको समयमा हतियार नबुझाए सरकारले त्यसमा कडा कदम समेत चाल्ने चेतावनी दिए। उनले विप्लव समूहले चन्दाका नाममा धम्क्याउने र लुटपाट गरिरहेको आरोप लगाए। सरकारले यस्ता गतिविधि रोक्न प्रतिबन्ध लगाएपछि केही बुद्धिजीविले नकारात्मक टिप्पणी गरेको विषयमा आफूलाई त्यस्ता बुद्धिजीविप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ थियो।

‘हिंसात्मक र ध्वंसात्मक गतिविधि नियन्त्रणका लागि सरकारले चालेको कदमप्रति नकारात्मक टिप्पणी गर्ने बुद्धिजीविहरुप्रति दया लागेर आउँछ,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रमा यस्तो तमासा गर्न पाइँदैन।’ प्रधानमन्त्रीले चन्दाका नाममा धम्की आए नमान्न सबैलाई आग्रह पनि गरे। विद्युत् आयोजनामा बम पड्काउने, टेलिकमका टावरमाथि बम पड्काउने जन्तीबसमा आगो लगाउने काम विप्लव माओवादीले गरिरहेको बताउँदै उनले विप्लवले बाटो नसच्याए सरकारले तह लगाउने पनि बताए।

‘सरकारले हतियार बुझाउन समायवधि दिएको छ,’ ओलीले भने, ‘समयमा हतियार नबुझाए, अटेरी गरे के गर्नुपर्छ सरकारलाई राम्रोसँग थाहा छ।’  विप्लव’ समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकै दिन अर्थात फागुन २८ गते मंगलबारको मन्त्रीपरिषद् बैठकले अवैधरुपमा राखिएका हातहतियार ३५ दिनभित्र नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको व्यारेकमा बुझाउन सूचना जारी गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले देशको शान्ति र सुरक्षा व्यवस्थालाई चुनौती दिने जोकसैलाई पनि सरकारले नियन्त्रण गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले गैरसरकारी संस्था या कुनै पार्टीका रुपमा दर्ता नभएकाले ‘विप्लव समूह’ अनाधिकृत समूह भएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement