विप्लवका घोराही इन्चार्जले दिए पार्टीबाट राजिनामा


दाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताए । उनले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताए ।

पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले उक्त समूह परित्याग गरेको उनको भनाइ थियो ।

आम नागरिकले अब देशमा शान्ति चाहिरहेको अवस्थामा फेरि पनि युद्धको झल्को दिने गतिविधि गर्नु उचित नभएको उनले बताए ।

उनलाई वैशाख १३ गते प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउँदै गिरफ्तार गरेको थियो भने उच्च अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरणमाथि बहस गर्दै रिहा गर्न आदेश दिए पनि प्रहरीको उच्च निगरानीमा थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement