विप्लवले लियो कैलाली विष्फोटको जिम्मा,आत्मसुरक्षाका लागि बोकेको बम पड्कियो


धनगढी – कैलालीको धनगढी-३ मा शक्तिशाली बम विष्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपाको संलग्नता रहेको पुष्टि भएको छ ।  बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै शक्तिशाली विष्फोटमा पांच जना घाइते र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार दिउँसो नेत्र विक्रम चन्दको सेती-महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो । विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् ।

घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । यद्यपि, उनीमाथि विज्ञप्तिमा केही उल्लेख गरिएको छ ।

भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सरकार र विप्लव समूह दुवै उग्र बन्दै गएपछि सुरक्षा चुनौती बढेको विश्लेषण हुँदै आएको छ । बिहीबारमात्रै सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सीके राउतझैँ संविधान स्वीकार गरेर शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिमा आएमात्रै वार्ता हुने बताएको थियो ।

वार्ताको चर्चा भइरहेका बेला विप्लव समूहबाट आएको धारणापछि सरकार-विप्लव समूहको दूरी टाढिन सक्ने अनुमान गरिएको छ । विप्लव नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम अघि सारेको छ । विप्लव समूहले अगाडि सारेको सरकारविरुद्धको कार्यक्रमले मुठभेड निम्तन सक्ने संकेत देखिएको छ ।

                                                                                (यस्तो छ  विज्ञप्ति)

प्रतिक्रिया दिनुहोस
Advertisement