नेपाली भुमी हडप्ने भारतको योजनामा सहभागी नहुन चीनलाई विप्लपको आग्रह


काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हुंदै भारतले चीनसंग जोड्ने सड्क बनाएकोमा विरोध जनाएको छ । विप्लव समूहको अन्तर्रा्ष्ट्रिय व्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गर्दै नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी समेत दिएको छ ।

विज्ञप्तीमा नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउंदा पनि सरकार चुपचाप बस्नाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको आरोप लगाइएको छ ।

विप्लव समूहले भारतले नेपाललाई पराधीन बनाउन लागेको निष्र्कश निकाल्दै अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ ।

विभागका इन्चार्ज बास्तोलाको विज्ञप्तीमा भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्न, चीनलाई नेपालको भूभाग हडप्ने भारतको प्रक्रियामा सहभागी नहुन र संयुक्त राष्ट्र संघलाई नेपालको सार्वभौमिकतामाथि भारतले गर्दै आएको हमलामा ध्यान पुर्याउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement