शक्तिशाली सेना वनिसकेको विप्लवको खुलासा, भारतिय कम्पनिलाई काम गर्न नदिने चेतावनी (अन्र्तवार्ता)


नेकपाका महासचिव नेत्रविक्रम चन्द अहिले भूमिगत छन् । रोल्पामा जन्मेका चन्द माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धले जन्माएका नेता हुन् । नेकपा माओवादीमा छंदै प्रभावशाली छवि वनाएका चन्दले तत्कालिन पार्टी अध्यक्ष प्रचण्डसंग विद्रोह गरेर फरक पार्टी बनाए । विप्लवले पहल गरेको पार्टीमा हालका गृहमन्त्री रामबहादुर थापादेखी मोहनवैद्य किरणसम्म सामेल थिए ।

पछिल्लो समय विप्लव नेतृत्वको पार्टीले देशभर बम विस्फोटका घटनाहरु घटाईरहेको छ । त्यतिमात्र होईन ललितपुरमा रहेको एनसिएल टावरमा वम विस्फोट हुंदा एक जनाको मृत्यु हुनुका साथै केही घाईते समेत भएका छन् । विप्लव नेतृत्वको नेकपाले उक्त घटनाको जिम्मा लिइसकेको छ । तर, सर्वसाधरणको मृत्यु भएको घटनामा भने पार्टीले दुखः व्यक्त गरेपनि जनस्तरमा भने उक्त घटनाको चर्को विरोध भएको छ ।

विप्लव नेतृत्वले सुरु गरेका हिंसात्मक गतिविधीले सरकारमाथी उनलाई कार्वाही गर्न चर्को दबाव वढिरहेको छ । विप्लवले नेकपाको मुखपत्र ई रातोखबरलाई लामो अन्र्तवार्ता दिंदै वर्तमान सरकारलाई दलाल पुंजिपतिहरुकै सरकार भएको आरोप लगाएका छन्  । उनले भारतिय लगानीकर्तालाई कुनै पनि हालतमा काम गर्न नदिने चेतावनी पनि अन्र्तवार्तामा दिएका छन्   

यस्तो छ विप्लवको अन्र्तवार्ता – 

 जनयुद्ध सुरु भएको २४वर्ष लाग्दैछ । जनयुद्ध सुरु गर्दै गर्दा यहाँहरूले लिएका प्रतिबद्धताका बारेमा केही बताइदिनुहुन्छ कि ?

-यो एकदम महत्वपूर्ण विषय हो । आज हामी जस्तो परिस्थितिमा उभिएका छौँ यहाँबाट विगत १० वर्षको जनयुद्धलाई समीक्षा गर्दा र यसका केही विषयहरू हामी सबैले देख्ने, अनुभव गर्ने र बुझ्नेगरी अगाडि छन् । पहिलो कुरा महान् जनयुद्ध राजनीतिको एउटा क्रमभङ्ग थियो । नयाँ सुरुआत थियो । एउटा थालनी थियो । त्यसको सार भनेको नेपालमा कायम रहेको सामन्ती सत्ता नोकरशाही तथा दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन र नेपाली जनताको सत्ता नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादतिर देशलाई लैजाने एउटा सुरुआत थियो । दोस्रो कुरा एउटा एकदम स्मरणीय अन्तर्राष्ट्रिय घटना के छ भने सोभियत सङ्घले धक्का खाएको समय थियो ।

पेरूको जनयुद्धमा कमरेड गोन्जालोको गिरफ्तारीपछि एउटा सङ्कट पैदा भएको थियो र विश्वभरि समाजवादी आन्दोलनमा एउटा अलि उतारको समय सुरु देखिन्थ्यो । अलि अँध्यारो छाएको जस्तो,वादल लागेको जस्तो देखिन्थ्यो । त्यही समयमा नेपालका श्रमिक जनताहरूको विद्रोहको प्रतिनिधित्व गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनविद्रोह सुरु ग¥यो । त्यसले एउटा सफलता प्राप्त गर्दै जाँदाखेरि नेपालमा त जनताले जित्छन् भन्ने साबित ग¥यो । त्यतिमात्रै होइन, सही विचार, सही कार्यदिशा, सही योजना र नेतृत्व रहँदाखेरि जुनसुकै परिस्थितिमा पनि सामन्तवाद पुँजीवादलाई पल्टाउन सक्ने जनताको सामथ्र्य छ भन्ने साबित गरेको छ ।

तेस्रो कुरा दस वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्व परिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए । सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी सत्ता बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्यायप्रणाली खडा गरे । उनीहरूले सुरक्षाका लागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे । मिलिसिया निर्माण गरे । त्यसपछि गएर प्रशासन खडा गरे । विभिन्न खालका राज्य र अङ्गहरू निर्माण गरे, प्रशासनिक निकायहरू निर्माण गरे, वित्तिय संस्थाहरू निर्माण गरे, उद्योगहरू निर्माण गरे । शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सुरुआतहरू गरे । यस्ता खालका अभूतपूर्व परिणामहरू दस वर्षमा प्राप्त भएर ती परिणामहरूले के साबित ग¥यो भने जनतानै इतिहासको निर्माता हो र कम्युनिस्ट पार्टीले सही नेतृत्व दिन सक्दाखेरी जनताले रातारात एउटा कायापलट, एउटा ठूलो परिवर्तनलाई हेरफेर गर्न सक्छन् भन्ने प्रमाणित ग¥यो । यसरी हामी हेर्न सक्छौँ ।

दस वर्षपछि नेपालमा शान्ति प्रक्रिया अगाडि आयो । वार्ता प्रक्रिया अगाडि आयो । त्यो नेपाली राजनीतिको अर्को एउटा अँध्यारो कालखण्ड हो र त्यसमा जनयुद्धको गौरवपूर्ण नेतृत्व गरेको नेतृत्व नै उल्टो दिशातिर फर्कौ या जोसँग लडाइँ सुरु गरिएको थियो त्यो र जसलाई पराजित गर्दै अगाडि बढिएको थियो । त्यसकै सामु त्यही वर्ग, त्यही सत्ता अथवा दलाल पुँजीवादी वर्गको अगाडि आत्मसमर्पण गर्दै फेरि पुँजीवादतिर फर्के र नेपाली जनताले रगतको मूल्यद्वारा स्थापित गरेका उपलब्धिहरू जनताको हातबाट उल्टाइदिए । सत्ताहरू गुमे । सेना गुमे । अदालतहरू गुमे । प्रशासन गुमे । फेरि जनताचाहिँ दलाल पुँजीपति वर्गकै उत्पीडनभित्र बन्द हुनुपर्ने स्थिति आयो । यसरी एउटा कालो खण्ड अगाडि आयो । त्यसलाई त्यो कसरी जान्छ भन्ने ठूलो बहस नेपाली जनतामा थियो । सायद पुँजीवादीहरूलाई, साम्राज्यवादीहरूलाई, उत्तर-साम्राज्यवादीहरूलाई र यहाँका सामन्तवादीहरूलाई अब नेपालको क्रान्ति सिद्धियो भन्ने परेको थियो ।

पार्टीभित्र एउटा ठूलो बहस थियो र धेरै मान्छेहरूलाई के थियो भने क्रान्ति यहाँसम्म भयो । अब सिद्धियो भन्ने परिरहेको थियो । तर श्रमिक जनताको प्रतिनिधित्व गरेको हाम्रो टिम, हाम्रो पङ्क्तिले एउटा आत्मसमर्पणवादका विरुद्धमा, विसर्जनवादका विरुद्धमा र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा ग¥यौँ । त्यो झन्डा सामान्य नभएर विश्वभरिका श्रमिक जनताका बारेमा देख्नेखालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौँ । फेरी एउटा नयाँ उज्यालो अभ्यास सुरु भएको छ । हामी यहाँ आइपुगेका छौँ र अहिले फेरी दलाल पुँजीपति वर्ग र नेपाली जनताको बीचमा नयाँ सङ्घर्षका किरणहरू अथवा सङ्घर्षका प्रक्रियाहरू अगाडि आएका छन् । यो त हामी सबैले देखेका छौँ ।

 मूलतः त्यो बेला जनयुद्धको मुख्य नेतृत्व गरेका भनेर चिनिने प्रचण्ड, बाबुराम र बादलहरू हुन् । जनयुद्धको नेतृत्व गरेका उनीहरूमा एकाएक त्यत्रो विचलन आयो । बाबुरामले माक्र्सवाद नै छोड्नुभयो । प्रचण्डजी पनि हिजो आफूले प्रतिक्रियावाद उन्मुख भनेको एमालेसँग पार्टी एकता गरेर अध्यक्ष भएर बस्नु भएको छ । एकाएक किन यस्तो भएको होला ?

-उन्मुख होइन, एमालेत प्रतिक्रियावादी भनेर घोषणा गरेको शक्ति भयो । त्यो मात्र होइन, उहाँहरू त काङ्ग्रेससँग चुनावी तालमेलमा जानुभयो । काङ्ग्रेससँग नि सरकारमा पुग्नुभयो । त्यसपछि अन्तर्राष्ट्रिय क्षेत्रमा जसलाई उहाँहरूले दुस्मन भन्नुहुन्थ्यो नेपाली जनताको सम्पूर्ण रूपमा उनीहरूको चाकरी र आत्मसमर्पणमा जानुभयो । यसको पछाडि हामीके देख्छौँ भने यसलाई पनि कनै व्यक्ति विशेषको एउटा नियतिमा नभएर एउटा ऐतिहासिक घटनाक्रमसँग हेर्नुपर्छ ।

अथवा नेपाली समाजको अर्थसम्बन्ध र राजनीतिक सम्बन्धकै बीचबाट हामीले हेर्नुपर्छ। त्यसमा हाम्रो निष्कर्ष के छ भने प्रचण्डजी जतिवेला युवा अवस्थामा हुनुहुन्थ्यो र नेपाली समाजमा अन्तरविरोध एकदमै धेरै पाकेका थिए, त्यतिबेला उहाँले एउटा सम्भावना देख्नुभयो । क्रान्तिको सम्भावना, विद्रोहको सम्भावना देख्नुभयो र गर्नुभयो त्यो सकारात्मक पक्ष छ । तर हाम्रो समाज एउटा ठूलो सङ्क्रमणमा छ । पुँजीवादमा पनि युगै पुगे छैन । सामन्तवादबाट अलिकति अगाडि बढेको स्थिति, त्यतिबेला त अझ अर्धसामन्ती अवस्थामा थियो । त्यस्तो सङ्क्रमणकालीन राजनीतिक अर्थसम्बन्ध रहेको देशमा अथवा अर्धसामन्ती अवस्था रहेको देशमा नेताहरूका दृष्टिकोणहरू, सोचाइहरू र विचारहरू पनि सङ्क्रमणमै रहेका रहेछन् भन्ने पनि अहिले प्रमाणित भयो । त्यहाँ सर्वहारावर्गीय दृष्टिकोणको दुहाइ दिए पनि वा सर्वहारा वर्गीय विचारको वकालत गरे पनि कम्युनिस्ट क्रान्तिकारीको एउटा प्रतिनिधित्व हुँ भनेर दाबी गरे पनि त्यहाँ सम्पूर्ण रूपले कम्युनिस्टका रूपमा रूपान्तरण भइसकेको स्थिति थिएन भन्ने यसले प्रमाणित गर्छ ।

उहाँभित्र एउटा द्वैत थियो । एउटा कम्युनिस्ट दृष्टिकोण पनि थियो । उहाँहरूभित्र एउटा निम्नपुँजीवादी अवसरवाद पनि थियो । निम्नपुँजीवादी अवसरवादको एउटा विशेषता के हुन्छ भने परिस्थितिलाई चिर्न सकेन भने उल्टो धारातिर फर्केर विसर्जनतिर पुग्छ । त्यो प्रवृत्तिलाई हामीले विश्लेषण गरेर हे¥यौँ भने प्रचण्डजी–बाबुरामजीहरूमा विचारमा पनि, सोचाइमा पनि र जीवनमा पनिसर्वहारा वर्गीय दृष्टिकोणको समग्र निर्माण भएको थिएन भन्ने कुरा साबित हुन्छ । जसले गर्दाखेरि जनयुद्धको अवधि जहाँ तपाईं जनताको बीचमा बस्नुभयो । धेरथोरजनताले लडे, कार्यकर्ताले लडे, बलिदान गरे । ठूलोत्याग भयो । त्यसको बीचमा रहँदाखेरि त मोटामोटी उहाँहरू सर्वहारा वर्गको कित्ताभित्र रहनुभयो । कम्युनिस्टभित्र रहनुभयो । जब उहाँ विभिन्न खालका विजातीय वर्गहरूसँग अथवा दलाल वर्गहरूसँग, पुँजीपति वर्गहरूसँग, अन्तर्राष्ट्रिय क्षेत्रका एकदम खप्पिस खेलाडी साम्राज्यवादी वर्गसँग उहाँहरू जोडिनुभयो । घुलमिल हुन जानुभयो । त्यतिबेला उहाँहरूभित्र बाँकी रहेको जो पश्चगामी प्रवृत्ति, निम्नपुँजीवादी प्रवृत्ति त्यसले उहाँहरूलाई खेद्यो अथवा खायो । उहाँहरू फर्किनुभयो । अन्ततः उहाँहरू सर्वहारा कित्ताबाट आफूलाई अर्कोदिशामा बदल्नुभयो । उहाँहरू एउटा संसदीय राजनीतिमै फर्किनुभयो । अहिले उहाँहरू हाम्रो विश्लेषणमा के छ भने दलाल पुँजीपति वर्गको प्रतिनिधिका रूपमा बसिरहनुभएको छ उहाँहरू । त्यहाँ पुग्नुभयो । यसरी हेर्नुपर्छ घटना क्रमहरूलाई ।

अब अर्को यसलाई कसरी पनि हेर्नुपर्छ भने हामीले जनयुद्धमा जुन सैन्य रणनीति र कार्यनीतिहरूको विकास गर्दै आयौँ त्यसमा उहाँहरूले जित्न सकिन्छ भन्ने पर्दै गएको भएचाहिँ उहाँहरू सायद सर्वहारा वर्गको कित्तामा अगाडि जाने सम्भावना पनि हुन्थ्यो तर खारा घटनाको पराजय, केही उहाँहरूको निजी जीवनमा भएका सुरक्षाका घटनाहरू, असुरक्षाका घटनाहरू, यस्ता घेराबन्दीबाट उहाँहरू कहाँ पुग्नुभयो भने लडेर सकिँदैन वा उहाँहरू आफैँले बलिदान गर्ने तहमा आफूलाई तयार गर्नुभएको थिएन ।

अरू कार्यकर्ता, जनताको बलिदानको तहमा विजयसम्म त उहाँहरूले भावनात्मक कुरा गरेर आउनुभयो तर जब आफैँले शरीरको चुनौती मोल्नुपर्ने वा भौतिक ढङ्गले बलिदान गर्नुपर्ने जस्तो परिस्थिति खडा भयो । त्यसपछि उहाँहरू एउटा आत्मसमर्पणतिर फर्किनुभयो ।उहाँहरूले निष्कर्ष के निकाल्नुभयो भने लडेर जित्न सकिन्न । जित्न सकिन्न भन्नाको मतलब उहाँहरूलाई छिटोछिटो सत्ताको स्वाद चाहिएको थियो ।सत्ताको रस चाहिएको थियो । त्यो रसबाट वञ्चित भइन्छ भन्ने कुरा गरेपछि उहाँहरू फर्किनुभयो । यी दुईटा कारणले हामीहेर्छौं : एउटा अर्थराजनीतिक सम्बन्धबाट, अर्कोसैनिक दृष्टिकोणबाट ।

 अब अहिलेको राजनीतिका बारेमा कुरा गरौँ । अहिले केपी ओली नेतृत्वको सरकार बनेको एक वर्ष हुँदैछ । यसलाई कसरी हेरिराख्नु भएको छ ?

– यसका दुईटा पाटा छन् । ऐतिहासिक शृङ्खलाबाट हे¥यौँ भने यो सामन्ती, नोकरशाही, दलाल पुँजीपति वर्गको सत्ताकै निरन्तरता हो । त्यसकारण यो सत्ताभित्र जनताले निरन्तर सङ्कट भोग्नुपर्ने, समस्या झेल्नुपर्ने, उत्पीडन खेप्नुपर्ने, अत्याचार भोग्नुपर्ने र विदेशी हस्तक्षेप खेप्नुपर्ने हुन्छ । यो एउटा पाटो हो । ऐतिहासिक दृष्टिले हेर्ने हो भने नेपालमा सत्तापरिवर्तन भएको छैन ।

दलाल पुँजीपति वर्गकै सत्ता भएको स्थितिमा जनताले त्यहाँभित्रबाट नयाँ जीवन पाउनेकुरा सम्भव हुँदैन ।अब दोस्रो कुरा, फेरि यहाँ त केपीजी–प्रचण्डजीले कम्युनिस्टका नाममा सरकारमा गएर समाजवाद ल्याउँछु भन्नेजस्तो गर्नुभएको छ । हामी कम्युनिस्ट नै हौँ। अब सरकारमा जान्छौँ, बहुमत दिनुस् । त्यसपछि गएर जनताको सुख र समृद्धि ल्याउँछौँ भनेर नारै दिनुभयोसुखी नेपाली समृद्ध नेपालको । यो कुरा नितान्त छलकपटपूर्ण र फट्याइँ थियोे । त्यो ‘पोलिटिकल ट्याक्टिस’ को हिसाबले, राजनीतिक कार्यनीतिका हिसाबले जनतामा दिने नारा, लोकप्रियताका निम्ति र एकछिन आँखा छल्नकालागि त त्यो भन्ने नारा भयो । ठिकै हो तर वास्तविक र व्यावहारिक जीवनमाचाहिँ त्यो परिणत हुने नारा होइन ।उहाँहरूले त्यो सक्ने पनि होइन । किनकि केपीजी र प्रचण्डजी दुवै जनाक्रान्तिको बाटोबाट विचलित भएको, भागेको, पछाडि हटेको पात्र हो ।

केपीजी झापा विद्रोहको बन्दुक फालेर आत्मसमर्पण गर्न जानुभयो । प्रचण्डजीत झन् अब महान् जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई खरानी पारेर त्यहाँ पुग्नुभयो । जहाँबाट सुखी नेपाली समृद्ध नेपालबन्ने हो त्यही बाटो छोडेपछि उहाँले यतापटिबाट संसदीय व्यवस्था र दलाल पुँजीवादी सत्ताको सरकारमा पुगेरसुखी नेपाली समृद्ध नेपाल भनेर भन्ने जो कुरा गर्न खोज्नुभयो त्यो एकदम भ्रामक र गलत कुरा छ । हुने कुरा छैन । त्यो गलत कुरा हो । एउटा भ्रामक कुरा हो । असत्य कुरा हो । झूठो कुरा हो त्यो । त्यसैले उहाँ फेल खानुभयो । यो ११–१२ महिनामा के देखियो भने उहाँहरूपूरै असफल हुनुभयो । फेल खाने भन्नाले जनताको आँखामा फेल खानुभयो । हाम्रो त निष्कर्ष नै यही थियो त ।

हामी त पहिल्यै प्रचण्डसँग विद्रोह गरेर आयौँ । आउनुको कारण के छ भने यो व्यवस्था, यो प्रणाली, यो बहुदलीय संसदीय व्यवस्था, पुँजीवादबाट यो परिवर्तनसम्भवै छैन। जनतालाई सुख दिने वा नयाँ भविष्य दिने यव नेपाललाई स्वाधीन बनाउने भन्ने सम्भव छैन भनेर त हामीले पहिल्यै भनिसकेका थियौँ । उनीहरूको पाटोमा हेर्दा त्यतिबेला सहकार्य गरेका नेताहरू सम्पूर्ण सुखसुविधा त्यागेर एउटा क्रान्तिको बाटोमा अगाडि हिँड्यौँ । त्यही भनेर फक्र्यौं । हाम्रो निष्कर्ष के थियो भने हामीले जे भन्यौँ, त्यही कुरा साबित भयो ।जनताले बुझ्छन् यो कुरा । यो हुने कुरा पनि थिएन भन्ने नै साबित हुन्छ ।

जनताले पाउनुपर्ने पाएनन् सत्ताका कारणले।राजनीतिक रूपमा पनि दिनप्रतिदिन विभिन्न परिघटनाहरू भएका छन् ।अन्तर्राष्ट्रिय परिवेश र नेपाललाई हेर्ने दृष्टिकोण पनि दिनदिनैजसो फेरिइरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

– यो एकदम ठीक भन्नुभयो । यो कुरा हो । अब यसमा पनि म दुईटा कुरा देख्छु । एउटाचाहिँ नेपालको आन्तरिक राजनीतिक उतारचढावहरू अथवा घटनाक्रमहरू एउटा नेपालको भूराजनीतिक अवस्थाको कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरिरहेका उतारचढावहरू यी दुईटा पाटोहरू छन् । यसमा नेपालको आन्तरिक राजनीतिक घटाक्रमहरू हेर्नुभयो भने यो दलाल पुँजीवाद भनेको आफैँमा एउटा सङ्कटग्रस्त राज्यप्रणाली हो ।नेपालमा थप के छ भने त्यसको कट्टर प्रतिनिधिहरू सरकारभन्दा बाहिर छन् । जे भनेपनि वामपन्थी र कम्युनिस्ट नाम गरेका त्यहाँ पुगेका छन् ।

त्यो पनि एकदमै कट्टर दलाल पुँजीपति वर्गलाई मन परेको छैन, पच्दैन । अनि सँगसँगै फेरि साम्राज्यवादीहरू उत्तर साम्राज्यवादीहरूलाई पनि त्यो मन पर्दैन । त्यसो भएपछि यो त सङ्कटग्रष्ट हुनु नै थियो । सङ्कट त यो दलाल पुँजीपति वर्गको चरित्र नै हो । यो त जहिले पनि भइरहेको हुन्छ । तेले सङ्कटलाई टार्नको लागि अनेकौ खेलहरू खेल्छ । चुनावका नाटकहरू रच्छ, एउटा पार्टीले जितेको अर्को पार्टीले हारेको नाटकहरू मञ्चन गरिन्छन् । अर्को नयाँ पार्टीहरू बनाइन्छन्, नाराहरू उठाइन्छन्, धर्महरूको कार्ड फालिन्छ यी विविध कुराहरू हुन्छन् । ती भनेको सङ्कटलाई जनताको आँखाबाट छल्नका लागि गरिएका नाटकीय खेलहरू मात्रै हुन् । अहिले जो चलिरहेको छ, यसमा त सङ्कटछ । सङ्कटपछि के होला त? भन्ने कुराचाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो ।

यसमा तीनवटा सम्भावना छन् : एउटा अहिले केपीजी–प्रचण्डजीहरू र नेपाली जनताहरूबीच सङ्घर्ष हुने र त्यो सङ्घर्षमा कि त केपीजी–प्रचण्डजीहरूले एउटा सामाजिक फासिवाद लाद्ने वा उहाँहरूलाई जनताहरूले क्रस गर्ने । उनीहरूलाई जनताले क्रस गर्ने अनि वैज्ञानिक समाजवादमा देश जाने एउटा यो हो । अर्को सम्भावना के छ भने यी नामधारी कम्युनिस्टहरू अथवा हामीले भनेको सामाजिक दलाल पुँजीपतिहरूको केपीजी प्रचण्डजीहरूको पराजय भयो भने अर्को आउने के हो भने कुनै न कुनै रूपले यहाँचाहिँ एउटा पुँजीवादी फासिवाद वा दलाल पुँजीवादी फासिवाद आउने सम्भावना छ । त्यसको खतरा पनि यहाँ छ । हैन सङ्कटलाई कसले हल गर्ने भन्ने कुरा यहाँ छ ।

अब तेस्रो कुरा के छ भने यो सङ्कटलाई सर्वहारा वर्गले, कम्युनिस्ट पार्टीको नेतृत्वले जनतासँग मिलेर परास्त गर्ने र नेपाललाई वैज्ञानिक समाजवादमा लाने । यी तीनवटासम्भावना हुन् नेपालमा अहिले देखिने । यी तीनमध्येमा सबै कुराहरू अगाडि छन् तर सबै मतलब नेपाली जनताको परिवर्तनकारी प्रवृत्ति छ । आफ्नो जीवनमा चाहिँ नयाँ रूपान्तरण खोज्ने चाहना । त्यसपछि लगातार ऐतिहासिक रूपमा नेपाली जनताले साथ दिँदै आएका प्रवृतिहरू अनि अहिले नेपालमा भइरहेका घटनाक्रमहरू सबैलाई जोडेर हेर्दाकाङ्ग्रेस, केपी र प्रचण्डको उत्तम विकल्प होइन । प्रचण्डजी र केपीजीहरू त असफल हुने कुरा नै भइहाल्यो । हुँदै जाने कुरा हो तर यसको उत्तम विकल्प र समाधान नेपाली काङ्ग्रेस पनि होइन किनकि इतिहासमा सबभन्दा धेरै नेपालको राष्ट्रियतामाथि सौदाबाजी गर्ने राष्ट्रघात गर्ने पार्टी भनेको त काङ्ग्रेस पार्टी नै हो फेरी ।

भ्रष्टचार निम्त्याउने, उदारीकरण निम्त्याउने र निजीकरण निम्त्याउँने पनि काङ्ग्रेस नै हो । त्यसकारण काङ्ग्रेस त असफल पार्टी नै हो । त्यसकारण केपी र प्रचण्डको विकल्प काङ्ग्रेस होइन, नेपाली जनताले सायद यो कुरा बुझेका छन् र बुझ्नुपर्छ । त्यसपछिआउँछ सानातिना झिनामसिना पार्टीहरूको कुरा । कसैकसैले राजतन्त्रको कुरा गर्छन् तर ती पनि के हुन् भने अहिले नेपाली जनताको आकाङ्क्षा र इच्छाभित्र पर्ने विकल्पहरू होइनन् ।कम्युनिस्ट पार्टीको नेतृत्वमा जनता, देशभक्त, सच्चा लोकतन्त्रवादीहरू र बुद्धिजीवीहरू, यी शक्तिहरू मिलेर नेपाली समाजलाई एकचोटि संसदीय व्यवस्था, पुरानो सत्ताको संरचनाबाटै परिवर्तन गरेर वैज्ञानिक समाजवादमा लग्ने जो धारा छ यो नै एउटा उत्तम र सम्भावित उज्ज्वल भविष्य बोकेको धारा हो । हामी त्यो देख्छौँ। नेपालको यो हो र यसैमा छ ।

अब अर्को जो अन्तर्राष्ट्रिय परिस्थिति भन्नुभयो,अन्तर्राष्ट्रिय त अब यसै पनिअहिले विश्व पुँजीवादी व्यवस्थाका रूपमा आउन खोज्दैछ । हामीसबैले देखेकै कुरा भइहाल्यो । एउटा भूमण्डलीकृत अवस्थामा आउँदैछ । त्यसैले पनि सबै देशहरूमा हस्तक्षेप त चलिराखेकै छ । तर नेपाल जस्तो खालको भूअवस्थितिमा छ । उता चीन छ । जेसुकै भए पनि चीनमा कम्युनिस्ट सरकार छ । समाजवाद भन्ने चलिरहेकै छ ।त्यसलाई अमेरिकाले रुचाउने कुरा भएन । अब तिब्बती दलाई लामाहरू निर्वासित छन् । उनीहरूको चलखेल प्रसस्तै भइराखेकै छ । चीनलाई घेर्ने रणनीतिमा अमेरिकाले हेरिराखेकै भइहाल्यो । यहाँ एसियामा अउँदा भारत र चीन दुवै शक्तिका रूपमा उदय भइराखेका देशहरू हुन् । तिनको बीचको अन्तरविरोध पनि छ । यी विभिन्न कारणले गर्दाखेरि नेपालको राजनीतिमा र नेपालको सत्तामा अन्तर्राष्ट्रिय चासो, उपस्थिति, अतिक्रमण र हस्तक्षेप हुने कुरा चलिराखेकै कुरा छ । अहिले यो बढेको छ ।

विश्वको कुनै पनि देश सङ्कटबाट बाहिर छैनन् । स्वयम् अमेरिकामा पनि सबैभन्दा ठूलो सङ्कट छ । सङ्कट हुनेबित्तिक्कै त क्रान्ति हुँदोरहेनछ । यता नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति गर्ने र समाजवाद ल्याउने भनेको छ । यसका आधारहरू केके छन् ?

-हामीले यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । पहिलो आधार भनेको नेपाली जनताले एउटा स्वतन्त्र, मुक्त, अधिकारसम्पन्न र स्वाधीनजीवनखोज्दै आइराखेका छन् । काङ्ग्रेसले राणाका विरुद्ध झन्डा उठायो । जनताले राणालाई फाल्न काङ्ग्रेसलाई साथ दिए ।त्यसपछिपञ्चायतका विरुद्ध काङ्ग्रेस र कम्युुनिस्टलाई जनताले साथ दिए । एउटा समय थियो राणाका विरुद्ध जनताले राजालाई पनि साथ दिए । फेरि समय आयो काङ्ग्रेसको सट्टामा एमालेलाई पनि साथ थिए ।

एमाले र काङ्ग्रेसको सट्टामा माओवादीलाई पनि साथ थिए । यी सबै घटनाक्रमले के साबित गरेको छ भने जनताले एउटा स्थिर र नयाँ जीवन खोजिरहेका छन् । तर गएगुज्रेको, उत्पीडनमा परेको, दमनमा परेको, हस्तक्षेपमा परेको जीवन होइन, मुक्त, स्वतन्त्र, स्वाधीन जीवन खोजिराखेका छन् । त्यसक्रममा उनीहरूले विभिन्न विकल्पहरूलाई साथ दिँदै छान्दै यहाँसम्म आइपुगेका छन् । तर यो भएको छैन । नभएको कुरालाई पार्टीहरूले विभिन्न ढङ्गले अपव्याख्याहरू गरे । कसैले हाम्रो पार्टी सरकारमा नगएर हो भने । कसैले काङ्ग्रेसले, कसैले एमालेले यी विभिन्न तर्कहरू गरे तर हामीले अघि पनि व्याख्या ग¥यौँ । यसको सार कुरा भनेको राज्यसत्तामा अहिलेसम्म कुनै परिवर्तन हुन सकेन । नहुनुको कारणलेयहीँ अवरुद्ध भइरहेको छ ।

त्यसकारण पहिलो आधार के हो भने यो सत्तालाई नै परिवर्तन गर्नुपर्छ है भन्दानेपाली जनतातयार हुने एउटा परिस्थिति छ । पहिलो आधार यो हो । किनभने उनीहरू नयाँ जीवन चाहन्छन् । दोस्रो आधार के हो भने जनताले चाहेर मात्रै त हुँदैन, त्यसलाई नेतृत्व दिनेदृष्टिकोण चाहिन्छ । संस्था चाहिन्छ र पार्टी चाहिन्छ । त्यस हिसाबले नेपालमा यसको पनि अहिले अभाव छैन । पहिलेएकचोटि एकदम प्रचण्ड–बाबुरामहरू संसदीय व्यवस्थामा फर्किसकेपछि त सबै मान्छेलाई एउटा बडो ठूलोभ्रमजस्तो पनि भयो । अथवा एकदमैअविश्वास, आशङ्का र निराशाजस्तो पनि छाउन खोज्यो । तर तपाईंहामीले जुन सङ्घर्ष ग¥यौँ ।

नेपाल कम्युनिस्ट पार्टीले जसरी सङ्घर्ष छे¥यो । चाहे पार्टीभित्र प्रचण्ड–बाबुरामहरूको विचलनका विरुद्ध होस्, चाहे बाहिर काङ्ग्रेस र अरू शक्तिहरूले माओवादी आन्दोलनलाई सिध्याउनकालागि खेलेको खेलका विरुद्धहामीले विद्रोह ग¥यौँ । विद्रोह गर्दायो पार्टी बन्ला र ? भन्ने पनि मान्छेहरूलाई प्रश्न थियो । कैयौँले आरोप पनि लगाए । केही मान्छेहरूको इच्छाले गर्दा, महत्वाकाङ्क्षाले गर्दा, पद नपाएर, सुविधा नपाएर भन्नेजस्ता तर्क, एकदमै पूर्वाग्रहपूर्ण, सङ्कीर्ण, दुराशयपूर्ण खालका तर्क पनि आए तर त्यो कुरा थिएन । हामीले नितान्त नेपाली जनताकै हितका निम्ति यी सबै कदमहरू चालेका थियौँ । पार्टीबाट विद्रोह गर्ने पनि, बाहिर सत्तासँग विद्रोह गर्ने पनिहामीले जनताकै हित र देशकै हितकालागि गरेका थियौँ । त्यो कुरा अब साबित भएको छ ।

अब पछिल्लो समय हेर्नुभयो भने हामीले चुनाव खारेज गर्दाखेरि पनि भयङ्कर ठूलो लडाइँप¥यो । दमन पनि भयो । नेपाली जनताले अलिकति हेरे । पछिल्लो समयमा एघारबाह्र महिनाको केपी–प्रचण्डहरूको यो असफलतापछि जनतालाई के कुरा विश्वास भएको छ भनेएकचोटि सत्तापरिवर्तन गर्ने नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्छ भने हेर्नुपर्छ, साथ दिनुपर्छ । त्यो कम्तीमा एउटा आशा गर्ने ठाउँ कम्युनिस्ट पार्टीले बनाएको छ । त्यसकारण नेतृत्व गर्ने पार्टी पनि यहाँ छ । यो दोस्रो आधार हो ।

तेस्रो, हामीले के भनेका छौँ भने एउटा विचारको कुरा गरेका छौँ । विचारमा विगतमा जनयुद्धसम्म जो व्याख्याहरू चले, कसले समाजलाई बदल्ने हो त भने लेनिनको समयसम्म मजदुरहरूले परिवर्तनको नेतृत्व गर्नुपर्छ भन्ने थियो । नेपालमा जनयुद्ध लड्दाखेरि किसानलाई आधार बनाएर परिवर्तन गर्नुपर्छ भन्ने थियो । तर हामीले सबै अध्ययन गरिसकेपछि के देख्यौँ भने ती दुईटै कुरा आजको नेपालको सन्दर्भमा ठ्याक्कै मेल खाँदैनन् ।

श्रमिक वर्ग जसलाई हामीले सबभन्दा बढी ध्यान दिन्छौँ, मजदुर–किसानहरू जो हामीलाई बढी उनकै मुक्तिकालागि अथवा अधिकारकालागि भन्नुस् वा त्यही शक्तिमा भर परेर जो परिवर्तनको कुरा गर्छौँ पछिल्लो २१औँ शताब्दीमा आइपुग्दाखेरि हाम्रो तर्क के छ भने श्रमिक वर्गको विस्तार भएको छ। अब मजदुर र किसानमा मात्रै श्रमिक वर्ग छैन, श्रमिक वर्गको दायराको परिधि फराकिलो भएर कहाँ पुगेको छ भने शिक्षित श्रमिक वर्ग जसलाई हामीले नयाँ श्रमिक वर्ग पनि भनेका छौँ, त्यहाँसम्म पुगेको छ । अब निरक्षर मान्छेहरू छैनन् । एकदम कम हुँदै गइरहेको छ। युनिभर्सिटी र कलेजको आधारबाट उत्पादन भएको ठूलो जनशक्ति बेरोजगार छ । त्यो रोजगारीमैगएपनिमजदुरकै रूपमा छ । माक्र्सले भनेजस्तो डाक्टर, इन्जिनियर, वकिल र वैज्ञानिकहरूलाई पनि पुँजीवादले त मजदुर बनायो ।

अहिलेकोे माक्र्सको भन्दा २ सय वर्षयता आउँदाअहिले त सबै क्षेत्रमा प्रतिष्ठित क्षेत्रलाई पनि एउटा नितान्त मजदुरका रूपमा चाहिँ उत्पीडन गर्ने वर्गका रूपमा प्रयोग गरिराखेका छन् भने हाम्रो भनाइ के छ भने अबको क्रान्तिमा कलेज र युनिभर्सिटी धारबाट विकास भएको श्रमिक शक्तिहरू शिक्षित श्रमिक शक्तिलाई पनि जोड्नुपर्छ । जो जोडिन्छ, जसलाई जोड्न सम्भव छ । त्यसैले हामीले भन्यौँ यो नयाँ श्रमशक्ति यसो हेर्दा मध्यम वर्गजस्तो पनि देखिन्छ । योसहितलाई जोडियो भने नेपालको क्रान्ति नयाँ उचाइमा उठ्छ । नयाँ तरिकाले हुन्छ । मजदुरबाट मात्र गर्ने पुरानो तरिका, किसानबाट मात्रै गर्ने जनयुद्धको तरिकाले अहिले पूर्णता हुँदैन ।

त्यसका निम्ति हामीले के भन्यौँ भने किसान, मजदुर र शिक्षित श्रमिक वर्ग यहाँसम्म जोडियो र यसमा अरू बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादीहरूलाई जोडियो भने देशलाई परिवर्तन गर्न सकिन्छ ।उनीहरू आउँछन् भन्ने हाम्रो तेस्रो आधार यो हो । चौथो आधार के हो भने क्रान्तिलाई चाहिने सम्पूर्ण शक्ति हुन्छन् नि त्यसको निर्माण गर्नेकुरा हो । पार्टी मात्रै वातर्कमात्रै वा विचारको कुरा मात्रै गरेरभएन । भौतिक रूपले एउटा सुदृढ र सक्षम शक्ति निर्माण गर्न सकिन्छ कि सकिन्न । गर्न सकियो कि सकिएन भन्दाखेरि कम्युनिस्ट पार्टीले आधारभूत रूपले त्यो तयारी गरेको छ ।त्यतातिर नेतृत्व गर्दैछ । त्यसकारण हामी हाम्रो देशलाई परिवर्तन गर्न सक्छौँ ।

एकीकृत जनक्रान्ति यो शताब्दीको एउटा नयाँ विचारका रूपमा विकास हुनसक्छ किनकि यसले एउटा नयाँ ब्याख्यासहित उएटाचाहिँ समाजवादमा लान खोजेको छ । समाजवाद पहिले मजदुरको मात्रै, किसानको मात्रै तेसो होइन, समाजवाद भनेको त चेतना र श्रमको अभिब्यक्ति हो । चेतना र श्रम मिलेर प्राप्त हुने एउटा व्यवस्था हो । सभ्य समाज हो नि त । त्यसकारण एउटा श्रमबाट मात्रैव्याख्या गर्नु हुँदैन । चेतनाबाट मात्रै होइन,चेतना र श्रमलाई एकठाउँमा ल्याउँदावास्तविक एउटा वैज्ञानिक समाजवाद बन्छ भन्ने भएपछि एउटा यो बन्न सक्छ, यसले ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।

पूर्वजनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेनालाई माया गरेजस्तै गरेर साम्राज्यवादीहरूले केही कार्डहरू फोलेको विरुद्धमा एकजना जिम्मेवार कमरेडको वक्तव्यमा जनमुक्ति सेना लड्न आउँदैछ है भन्ने आएको थियो ।पार्टीले जनमुक्ति सेना नै बनाइसकेको हो कि ? ठाउँ-ठाउँमा विभिन्न घटनाहरू भइरहेका छन्। खासमा के हो ?

-हैन, यो विषय एकदम संवेदनशील विषय पनि हो, महत्वपूर्ण विषय पनि हो र क्रान्तिकालागि अनिवार्य विषय पनि भयो ।हामीले एकदमै भयङ्कर शक्ति सुदृढ गरिसक्यौँ, भइसक्यो भन्नेतिर त म नजाऊँ तर के कुरा साँचो हो भने अहिले पछिल्लो समयमा जुन घटनाहरू देखिएका छन् यसलाई हामीले चिर्नैपर्ने छ । एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि अब क्रान्तिमा आक्रमण गर्नकालागि त्यसलाई प्रयोग गर्ने, क्रान्तिलाई आक्रमण गर्न जो खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्न जरुरी छ । जनमुक्ति सेना पूर्व होइन, पूर्व त कसले बनाइदियो भने यूएनले बनाइदियो । पूर्व त भारतले बनाइदियो । पूर्व त काङ्ग्रेस र एमालेले बनाइदिए । पूर्व त प्रचण्ड र बाबुरामले बनाए । हाम्रो त लगातार के छ भने जनमुक्ति सेना पूर्व हुने सेना होइन ।

जनमुक्ति सेना भविष्य बोकेको, भविष्यको जिम्मा लिने सेना हो। त्यसलाई पूर्व भनेर हाल्न खोजेको थियो । त्यतिबेलै हामीले विरोध ग¥यौँ ।त्यतिबेलाको परिस्थितिमा ठूलो बहस पनि चलेको थियो । मैले भनेको पनि थिएँ– सत्ता साझेदारी हुनुप¥यो नि त । सेना पनि दुईटा हुन्छ । दुईटै नाम राख्नु प¥यो नि । एउटा नेपाली सेना हुन्छ, अर्को जनमुक्ति सेना हुन्छ । के बिग्रिन्छ ? किन हुन सक्दैन त्यो ? सत्तासाझेदारी भनेको त त्यो हो नि । वार्ता भनेको त त्यो हुनुपथ्र्यो नि । एउटा सेनालाई लिएर अर्कोलाई सम्पूर्ण रूपमा समाप्त पारिदिने कुरा, सिध्याइदिने कुरा हुन सक्दैनथ्यो नि ।त्यतिबेलै समायोजनका नाममा जनमुक्ति सेनालाई जसरी विसर्जन गरिँदै थियो त्यसै दिन हामीले विरोध गरेका थियौँ । पूर्व हामीले स्वीकार गरेको होइन । पूर्व भन्ने शब्द जो बनाउन खोजेका थिए, त्यो भएन ।अहिले पनि जोडतोडले ल्याउन खोजिएको छ । अहिले फेरि मनोवैज्ञानिक रूपमा हमला गर्न खोजिँदैछ भने जनमुक्ति सेना थियो, कुनैबेला त्यो सकियो,त्यो मात्रै होइन । पूर्व जनमुक्ति सेनाको ब्याज खानुपर्छ, खुवाउनुपर्छ भन्ने एउटा फेरि पुँजीवादी साम्राज्यवादीहरूको खेल छ यहाँ । त्यो होइन । नेपालमा त क्रान्ति नै सम्पन्न भएको छैन भने जनमुक्ति सेना पूर्व भनेर, सुविधा खाएर बस्ने कुरा हुन सक्दैन।

यहाँ त जनमुक्ति सेना बनाउनु पर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ नि । त्यसकारण वर्तमान जनमुक्ति सेना बनाउने कुराको महत्व छ भन्ने कुरा हामीले चिर्न खोजेको कुरा यो हो । अब जहाँसम्म बनेको छ कि छैन भन्ने कुरा हो, यो विभिन्न ढङ्गले बाहिर गइसकेको हुनाले ढाँट्नुपर्ने जरुरी छैन । हामी त्यतिबेलै पनि प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउनलाई अपिल ग¥यो । आउनु पनि भो । आएपछि हामीले भन्यौँ– गठन गरौँ । हामीले विभिन्न सुरक्षाका जनस्वयम्सेवक गठन गर्ने कुरा पनि भयो । हामीले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य हो भन्यौँ । एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ । त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ । यतिचाहिँ हामीले जनतालाई भन्नुपर्छ किनकि बाहिर भ्रमहरू चलिरहेका छन् । यसलाई चिर्नुपर्नेछ । यस हिसाबले जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना, समाजवाद ल्याउने सेना बनेको छ । सुदृढीकरणतिर जाँदैछ ।

जो साथीहरू अहिले एनजीओ/आईएनजीओमार्फत हिजो जनमुक्ति सेनालाई विघटन गराउन भूमिका निर्वाह गरेका तत्वहरूले अहिले फेरि माया गरेजसरी जनमुक्ति सेनालाई पूर्व जनमुक्ति सेना भने,त्यसो होइन । तपाईंहरू सबै अब नयाँ क्रान्तिमा भाग लिन आउनुस् । पूर्व भएर, पीडित भएर बस्नु परेन नि त । प्रचण्डले पो मान्छेहरूलाई रुवाउँदै फर्कायो त । कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्दैछ । यहाँ आएर भाग लिनुप¥यो । अब क्रान्तिमा सहभागी बन्न आउनुप¥यो । अनि केको पीडा ? क्रान्ति त एउटा निरन्तर जीवनको प्रक्रिया हो नि ! जीवन रहुन्जेलसम्म, समाज रहुन्जेलसम्म, साम्यवाद नआउन्जेलसम्म पुँजीवादका विरुद्ध कम्युनिस्टहरूले क्रान्ति छेडिरहनुप¥यो नि । त्यसकारण हामी हिजो थियौँ । दुःख ग¥यौँ । त्यहाँ हामीलाई अलिकति पैसा देऊ । हामीलाई अलिकति सुविधा देऊ भनेर भिक माग्न, रुनकराउन जरुरत नै छैन । पूरा गौरवका साथ इतिहासमा गरेका योगदानमा गर्व गर्दै नयाँ एउटा इतिहासको निर्माणमा जिम्मेवारीबोधकासाथ जुटौँ। यो हाम्रो कुरा हो ।

अहिले केही मिडियामा नेपाल कम्युनिस्ट पार्टीभित्र दुई लाइन सङ्घर्ष छ भन्ने आएको छ । एउटाको नेतृत्व प्रकाण्डले गर्नुभएको छ र अर्काको महासचिव आफैँले गर्नुभएको छ भन्नेछ । यथार्थ के हो ?

-यो बडो हाँसोलाग्दो कुराछ । हास्यास्पद पनि छ। पहिले पनि यस्तो चर्चा हुन्थ्यो है बाबुराम र प्रचण्डको दुई लाइन सङ्घर्ष चल्दाखेरि । यो केही नभएर धुवाँ उड्दैन, आगो नबल्दा धुवाँ उड्दैन भनी बाबुरामले आफ्नै शब्दमा भनेका थिए । अहिले विज्ञानले त पानीमा पनि आगो पार्न थाले भनेर हाँसोमा धुवाँ उडाउन भनेर जस्तो कुरा गर्थे हैन ?त्यो उनको कुरा भो । तर एउटा के हुँदोरहेछ भने एउटा वैज्ञानिक दृष्टिकोण, क्रान्तिकारीहरू विचारलाई, माक्र्सवादी, लेनिनवादी, माओवादी विचारलाई विभिन्न ढङ्गबाट घेराबन्दी हुँदोरैछ। त्यो म आफैँले प्रत्यक्ष महसुस गरेको छु ।

प्रचण्डजी–बाबुरामजीहरू लड्दाखेरि कसरी घेराबन्दी हुन्छ मान्छेलाई ? निजीभन्दा निजी जीवनदेखि लिएर त्यस्तै परिवार, त्यसपछि समाज, त्यसपछि संस्था, पार्टी अनि विचार चारैतिरबाट कसरी घेराबन्दी हुन्छ र नेताहरूलाई छियाछिया पारेरसिध्याउनका निम्ति खेलहरू खेलिन्छन् भन्ने कुरा प्रत्यक्ष मैले अनुभूति गरेको छु । त्यो लडाइँ त हामीले जित्यौँ । जति घेरा हालेपनि हामीले त्यो घेरा तोड्यौँ र तिनको घेराबाट बाहिर आएर हामीले एउटा विचारको निर्माण ग¥यौँ । पार्टी निर्माण ग¥यौँ। त्यसपछि आन्दोलनको निर्माण हामीले गरेका छौँ । यहाँ आइपुगेपछि मान्छेलाई के छ भने विचारमा त घेर्न सकिएन भने विचार त गइराखेकै छ । एकीकृत जनक्रान्तिलाई पनि गिजोल्नकालागि थुप्रै कोसिस भयो । त्यो पनि स्थापित भएर गइसक्यो ।

कम्युनिस्ट पार्टी हुँदैन, बन्दैन भन्ने थियो । त्यो पनि पार भएर गइसक्यो हैन ?एकीकृत जनक्रान्ति पनि सफल हुँदैन भन्ने थियो । त्यो पनि एक हिसाबले लागू हुँदै गइराखेकै छ । वैज्ञानिक समाजवाद लागू हुँदैन भन्ने थियो, त्यो पनि अहिले ठूलो परीक्षणमा अगाडि बढिरहेको छ अथवा सफल हुँदै गएको छ । यो सबै देखेपछि अब कहाँनिर आक्रमण गर्ने त?विचारमा, राजनीतिमा गर्न नसक्ने जस्तो चिरा नदेखेपछि अब उनीहरू कहाँ आएका छन् भने फेरि नेता–नेताको कुरा गर्ने । हैन, सङ्गठनको कुरा गर्ने ।पार्टीमा घेराबन्दी गर्ने । पार्टीमा तानतुन पार्न खोज्ने । यस्तो कुरा आउँछ ।यीत खेलहरूअन्तर्गत चलिरहेका कुरा हुन् । यसमा कुनै सत्यता पनि छैन र हुने कुरा पनि भएन । त्यो हुँदा पनि हुँदैन ।

मेरो एकदम विश्वास के छ भने त्यो हुँदा पनि हुँदैन र हुने कुरा पनि छैन । हामी त क्रान्ति सम्पन्न गर्ने ठूलो अठोट लिएर हिँडेका छौँ । हामीले यस्ता ठूला हन्डर र ठक्करबाट आफूलाई त्योभित्र पसाएर–पचाएर निस्केका छौँ । ठूला हन्डर ठक्करका बीचबाट गुजारेर निस्केका छौँ । त्यो कुनै सम्भावना छैन । अरूले चाहने कुरा त कुनै सम्भवै छैन । हैन, पार्टीभित्र पनि त्यो सम्भवै छैन । हुँदैन । किनकि हामीले के देखेका छौँ भने हामीले दार्शनिक रूपमा हेर्न खोजेका छौँ नि । विचार एक भयो, दृष्टिकोण एक भयो, क्रान्तिलाई केन्द्रबिन्दुमा राखिन्छ भने त्यसपछि हुने अन्तरविरोधहरू तुच्छ स्वार्थकालागि हुन जान्छन् । त्यसलाई हामी कुनै पनि ठाउँ दिँदैनौँ भनेका छौँ नि । पार्टीमा त्यो हुँदैन । त्यसो हुँदाखेरि एकथरी मान्छेले के भन्छन् भने निषेधवादी हैन, अद्वन्द्ववादी त्यो कुरा होइन ।

हामी एउटा ठूलो परीक्षण गरेर साम्राज्यवादलाई चुनौती दिँदैछौँ । हामीले यहाँ दलाल पुँजीवादलाई चुनौती दिँदैछौँ । त्यसका लागि त यस्तो दृढ इच्छाशक्ति, यस्तो चट्टानी एकता, यस्तो टिमबद्ध परिचालन, यस्तो आक्रमण चाहिन्छ जसले त्यसको सम्पूर्ण छेकबार भत्काइदिन सक्नुपर्छ । हामी त्यस्तो पार्टी र आन्दोलन बनाउँदैछौ भने जुन खालका प्रचारहरूआएका छन् त्यसमा कुनै सत्यता छैन ।

पार्टी एकताको कुरा चलिरहेको थियो बीचमा । अहिले खासै त्यसको चर्चा आइराखेको छैन।पार्टी एकता अथवा संयुक्त मोर्चा निर्माण हुने सम्भावना के छ ?

-हामीले लगातार के भनेका छौँ भनेक्रान्तिगर्नकालागि एउटा दृष्टिकोण त चाहियो नि । एउटा दृष्टिकोण, विचार, कार्यदिशा, त्यसपछि पार्टी चाहियो । यो आधारभूत कुरा भइहाल्यो । तर त्यति मात्रै भएर पुगिहाल्छ भन्ने कुरा होइन । विभिन्न सामाजिक सम्बन्धहरू, वर्गहरू, समुदायहरू त्यसभित्रका प्रवृत्तिहरू हुन्छन् । अहिले एउटै पार्टीले सबैको प्रतिनिधित्व गरिहाल्छ भन्ने हुँदैन । विभिन्नखालका प्रतिनिधिहरू, संस्थाहरू, व्यक्तित्वहरू, पार्टीहरू हुन्छन् । त्यसलाई हामीले स्वीकार गर्नैपर्छ । त्यसका लागि हामीले के भनेका छौँ भने नम्बर एक विचार मिल्ने, दृष्टिकोण मिल्ने, कार्यदिशा मिल्ने, कार्यक्रमहरू मिल्नेहरू एक भएर जानुपर्छ ।

एकताबद्ध हुनुपर्छ भन्ने हाम्रो छ र हामी लगातार गर्दै आएका छौँ। यो तपाईंहामीसबैलाई थाहा छँदैछ । त्यो सफलता पनि हामीले हासिल गर्दै आएका छौँ ।अहिले भर्खरै पनिविभिन्न व्यक्तित्वहरू पार्टीमा आबद्ध हुने प्रक्रियाचलिराखेकै छ । कैयौँ पूर्वसभासद्हरू आइसक्नुभएको छ । अरू साथीहरूसँग पनि छलफल चलिराखेकै छ । त्यसपछि हिजो सँगै सहकार्य गरेका वरिष्ठ नेताहरूसँग पनि हाम्रो छलफल चलिराखेकै छ । माओवादी आन्दोलनका नेताहरूसँग। भर्खर मात्रै दीर्घजीहरू पनि आउनुभयो, नरबहादुर कार्कीहरू पनि आउनुभयो । विभिन्न ढङ्गले आइराख्नुभएकै छ साथीहरू, कमरेडहरू । यो चलिराखेको छ ।

अर्को संस्थागत ढङ्गले सम्भव भए एकता नै गरौँ भन्ने पहलअन्तर्गत हामीले किरणजीसँग, त्यसपछि गोपाल खम्बुजीसँग, ऋषि कट्टेलजीसँग कुराकानी गरिराखेकै छौ । सम्भव भएसम्म त्यो मिलाऊँ भन्नेमै हामी छौँ । छलफल सकारात्मक ढङ्गले भइराखेका पनि छन् । त्यो चलिराखेको छ । अब अर्को कुरा के छ भने भए एकता नै, नभए केही पनि होइन भन्ने हुँदैन । भए त एकता राम्रै कुरा भइहाल्यो । पार्टी नै एकताबद्ध भएर जाऊँ भन्ने कुरा नै भयो ।त्यसमा तत्काल पुग्न सकिँदैन भने कम्तीमा वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष र अहिले भइराखेका दैनिक जनजीवनका सङ्घर्षहरूसँग एकताबद्ध भएर सँगै जाऊँ भन्ने हाम्रो छ । त्यसमा संयुक्त मोर्चा बनाऊँ भन्ने हाम्रो कुरा छ ।

तेस्रो के छभनेअहिले संयुक्त मोर्चा बनाएर लैजाँदाखेरि अलिकति समय लाग्ने भयो भने कार्यगत एकता नियमितगरौँ भन्नेछ । कार्यगत एकतामा राम्रै सफलताहरू भइराखेकै छ । लगातार हामी सँगसँगै छौँ। तीनचारवटा पार्टीहरूसँग राम्रै भइराखेको छ ।यसलाई हामीले धेरै नै महत्वकासाथ हेरेका छौँ रजिम्मेवारीपूर्ण ढङ्गले ग्रहण गरेका छौँ । आत्मसाथ गरेका छौँ। हामीले कहीँ पनि न्यूनीकरण गर्नुहुँदैन भन्नेछ ।खासगरी हामीमाथि दमन भयो । हामीमाथि भएको दमनका विरुद्धक्रान्तिकारी माओवादी, माओवादी केन्द्र (गोपाल खम्बुजीहरूको),कट्टेलजीहरूले जुन खालको सङ्घर्षमा साथ दिनुभयो अथवा कम्तीमा मोर्चामा, यो दलाल पुँजीवादका विरुद्धलड्नको निम्ति उहाँहरूले जुन खालको साथ दिनुभयो,त्यसलाई हामीले भुलेका छैनौँ । त्योमहत्वपूर्ण सहयोग हो।त्यो कार्यगत एकताको स्पिरिटमा छ । सम्भव भयो भने हामी त्यसलाई संयुक्त मोर्चामा उठाऊँ भन्नेमा छौँ। अझ त्यसलाई मेहनत गरेर एकतासम्म पु¥याऊँ भन्नेमा हाम्रो छलफल चलिरहेको छ ।

 नेपालमा भारतको हस्तक्षेप असाध्यै बढिरहेको छ । पार्टीले लगातार हस्तक्षेपका विरुद्ध आन्दोलन गरिरहेको छ । अरुण ३, अपर कर्णाली, कोसी उच्च बाँधका कुरा पनि आइरहेका छन् ।भारतीय हस्तक्षेपका विरुद्ध कसरी लड्ने?

-देशको अगाडि एउटा गम्भीर चुनौती र सङ्कट पैदा भएको छ । सायद यो कुरा सबै नेपालीले पहिलेको भन्दा जीवन्त र ताजा रूपले अनुभूति गरेका होलान् भन्ने लाग्छ किनकि केपी र प्रचण्डजीहरूलेभन्नुभएको थियो नि हामी सरकारमा गएपछि यो हल हुन्छ भनेर,तर झन् राष्ट्रघात थपिन थाल्यो । यसबाट के अनुभूति भएको छजस्तो लाग्छ भने सामान्य एउटा सरकारमा प्रतिनिधित्व हेरफेर भएर मात्र हेरफेर हुने विषय होइनरहेछ भन्ने सबैलाई लागेको होला भन्ने लाग्छ । यसमा हाम्रो भनाइ के छ भने यो अझै बढ्नेवाला छ ।

सरकारमा जति सङ्कट पैदा हुन्छ, सत्तामा जति सङ्कट पैदा हुन्छ, देशभित्रका शासकहरूले र विभिन्न प्रतिक्रियावादी वर्गले समाधान गर्न सक्दैनन् । त्यसका विभिन्न आयामहरू थपिँदै जाने हुन्छ । कहिले त्यो आर्थिक रूपमा देखापर्छ । कहिले त्यो भूगोलमा देखापर्छ । कहिले राजनीतिमा देखापर्छ । तर जबजबसङ्कट चर्किंदै र गहिरिँदै जान्छ, त्यो चौतर्फी रूपले बढेर आउँछ ।अतिक्रमणको कुनै क्षेत्र बाँकी छैन । चाहे राजनीतिमा हेर्नुस्, दलाल खडा गरेर सत्ता चलाइएको छ । सबै पार्टीमा चलाउने उनीहरू नै छन् । केपीलाई उचाल्ने पनि उनीहरू नै छन् । प्रचण्डलाई उचाल्ने पनि उनीहरू नै छन् । शेरबहादुरलाई उचाल्ने पनि उनीहरू नै छन् । रामचन्द्रलाई उचाल्ने पनि उनीहरू नै छन् । पार्टीका अरू झिनामसिना त कुरै छोडिदिनुहोस् । यो खालकोराजनीतिमा पनि उनीहरूले हस्तक्षेप गरिरहेका छन् । उता अर्थतन्त्रमा हेर्नुहोस् । अर्थतन्त्रमा हिजोआजको रिपोर्ट हेर्दा व्यापारघाटा हेर्दा अर्बबाट खर्बतिर जाँदैछ । नेपालले आयात गर्ने वस्तु यति धेरै वृद्धि भएर गएको छ कि हामीसँग कुनै सीमा छैन ।

नेपालका उद्योग–कलकारखाना सबैतिर एउटा नियन्त्रण गर्दै गएको स्थिति छ । सानासाना कुरामा पनि वित्तीय संस्थामा त्यस्तै छ । कृषि क्षेत्रमा त्यस्तै छ । मतलब हस्तक्षेप त्यहाँ पनि छ । भूगोलमा कालापानी, सुस्तादेखि लिएर सबैकुरा कायमै छन् । अहिले नदीनाला, कर्णाली, कोसीमाथि हिमालसम्म अतिक्रमण र हस्तक्षेप बढ्दैछ । संस्कृतिमा त्यस्तै छ । सबै क्षेत्रमा, प्रशासन क्षेत्रमा पनि आइसके । सुरक्षा क्षेत्रमा पनि विभिन्न ढङ्गले चलखेल गरिरहेको स्थिति छ । यो बढ्दै गएको छ । हामीले के भनेका छौँ भने यसलाई अनुभूत गरेरमात्र हुँदैन, यसलाई सङ्गठित प्रकारले समाधान गर्नेगरी सोच्नुपर्छ । त्यो भनेको वैज्ञानिक समाजवाद हो । त्यसैले हरेक देशभक्तले सोच्नुहोस् ।

नेपाली सेनाले पनि इतिहासदेखि आजसम्मको एउटा संश्लेषण गरेर राष्ट्रियताका बारेमा सोच्नुप¥यो । प्रहरीले पनि सोच्नुुप¥यो । कर्मचारी उद्योगी–व्यवसायी सबैले सोच्नुप¥यो रातारात आएका दलालहरूले नेपालका राष्ट्रिय पुँजीपति वर्गका व्यक्तिहरूलाई पूरै सिध्याउने खेल भैरहेको छ । टाटपल्टाइँदै छ । सडकमा लगिँदैछ । यो सबै जो स्थिति छयसका लागि हामी एकताबद्ध बनौँ। लोकतन्त्रवादीहरू पनि आउनुहोस्। सबै आउनुहोस् । सबै मिलेर देशलाई परिवर्तन गर्नेतिर स्वाधीन बनाउनेतिर र विदेशीहरूको हस्तक्षेपबाट मुक्त गर्नेतिर जाऊँ । राम्रो पनि भएको छ । हामीलाई सबैले सहयोग पनि गरिरहनुभएको छ । बुटवल जितगढीकै कुरा गर्नुहोस् न । जितगढी भनेको नेपालीको अङ्ग्रेजविरुद्धको आन्दोलनसँग जोडिएको एउटा किल्ला, एउटा प्रतीक हो । त्यसलाई भारतले आफ्नो पेन्सन क्याम्प बनाएर आफ्नो सेना ल्याएर राख्न खोज्दैछ । नेपालको प्रशासन र नेताहरू लाचार भएर त्यसलाई बेचेर खाँदैछन् । यी सबै क्षेत्रमाहामीले प्रतिरोध गरिरहेकाछौँ । यसमा सबै सचेत बनौँ भन्ने पहिलो कुराहो ।

दोस्रो कुरा के छ भने भारतलाई पनि भन्ने कुराके भने यो कुनै दुस्मनको कुरा होइन । भारतीय जनतासँग त सुमधुर सम्बन्ध छँदैछ नि तर गलत नीतिको विरोध गरेको पो हो त । त्यहाँका श्रमजीवी जनता, मेहनतकस जनता, सर्वहारावर्गसँग, उत्पीडित जनतासँग, आम भारतीय जनतासँग त हाम्रो हार्दिक सम्बन्ध नै छ नि । हामीले त दिल्लीको प्रशासन, दिल्लीको शासक, सत्तासीन वर्गले गरेको गलत कामको विरोध गरेको हो । भारतबाट पनि यो आवाज उठोस् भन्ने हाम्रो कुरा छ ।

तेस्रो कुरा के छ भने भारतका लगानीकर्ताहरूले, संस्थाहरूले बुझिराखून्, अपरकर्णाली पनि हामी लागू हुन दिँदैनौँ । अरुण ३ पनि गर्न दिँदैनौँ ।जितगढी पनि गर्न दिँदैनौँ। यस्तो कोसीबाँधजस्ता छन्नि जो जनतालाई सीधै क्षति पु¥याउने, घाटा लाग्ने नेपालको अर्थतन्त्र डामाडोल बनाउने,स्रोतसाधन अस्तव्यस्त बनाउने र कब्जा गर्ने काम हामी हुन दिँदैनौ । त्यो कुरा हामीले जीएमआरलाई भनेका छौँ । सतलजलाई पनि भन्ने हो । त्यो हामीले अरूलाई पनि भन्ने हो । अरू जोजो छन्, त्यसो नगर्नुहोस् भन्ने हो । नेपालमा बिजुली निकालेर भारतमा लाने कुरा कसले मान्छ ? २–४ जनाले कमिसन खाएर, २–४ जना नेताहरू चुप लागेर हुन्छ? एनसेलको हेर्नुहोस् त, हामीले कुरा उठाउँदा ४३ अर्बको कुरा थियो । दुई महिनाअघि ६० अर्बको कुरा थियो । अहिले ७२ अर्बको कुरा आएको छ । कुनचाहिँ पार्टीको नेता बोल्यो ? यो सबमा भ्रष्टाचार भएको छ भन्ने कुरा थाहा हुँदैन ?

अहिले वाइडबडीको कुरा गर्नुस् । वाइडबडी पनि एउटा राष्ट्रघात हो नि त। जनताले उठाएको करको पैसा लगेर किनेको वाइडबडीको जहाजमा ६–६ अर्बरुपैयाँ घोटाला हुने । यसमा किन प्रचण्ड बोल्दैनन् ? किन केपी बोल्दैनन् ? किन शेरबहादुर बोल्दैनन् ? औपचारिकताका निम्ति यसोउसो भनेर हुन्छ ? यसले के देखाउँछ भने भ्रष्टाचारीहरूले, विदेशी दलालहरूले हाम्रो देशलाई गाँजेर लुट्ने ?चुस्ने ?जेभा’छ यी सबै राष्ट्रियतासँग सम्बन्धित कुरा हुन् । हामी त्यसलाई सफल हुन दिँदैनौँ । सबै मिलेर गरौँ भन्ने हाम्रो भनाइ हो ।

केही समयअगाडि सरकारले वार्ताका लागि भनेर एउटा टोली पनि बनाएको सुनियो । नेपाल कम्युनिस्ट पार्टीका जिम्मेवार नेताहरू गिरफ्तार भएपछि वार्ताका कुरा गरियो । अहिले सरकारले के आरोप लगाएको छ भनेआफ्ना नेता–कार्यकर्ता छुटाइहाले । वार्तामा पनि आएनन् । यो विषय के हो ?

– यो रमाइलोजस्तो पनि र बडो गम्भीर विषय पनि हो । वार्ताका बारेमा म आफैँलाई हेर्नुस्वार्ताको तीतोमीठो सबै अनुभव भोगियो । २०६४ सालदेखि २०६९ सालसम्म वार्ताले नै यस्तो बनायो । प्रचण्डहरूलाई त्यहाँ पु¥यायो । हामीलाई यहाँ पु¥यायो । बाबुरामलाई त्यहाँ पु¥यायो । अहिले हामी के देख्छौँ भने वार्ताका बारेमा नयाँ शिक्षा के प्राप्त भयो भने वार्ताका बारेमा अझ नजिकबाट बुझ्ने मौका प्राप्त भयो भन्ने लाग्छकिनकि वार्ता गर्ने कि नगर्ने, वार्ता आवश्यक हो कि होइन ?वार्तामा हामी भाग लिन्छौँ कि लिँदैनौँ, यी विषयहरू आफ्नो ठाउँमा छँदैछन् । तर कुरा के भने सरकारले बिनाकारण हाम्रा साथीहरू समात्यो । अदालतसम्मको लडाइँले छोड्यो । छोड्दाखेरि वार्ता गर्ने मनसाय थियो भने उनीहरूले नै जानून् । वार्ताटोली बनायो तर कोसँग के विषयमा वार्ता गर्ने भन्ने विषयमा बाहिर आधिकारिक ढङ्गले बोल्दा पनि बोलेनन् । छिटफुट बोलिएका कुरा भए त्यो मात्र होइन ।

वार्ताका विषयमा हाम्रो पार्टीसँग आधिकारिक तरिकाले, जिम्मेवारीपूर्णतरिकाले कुरा गर्दा पनि गरेनन् । व्यक्तिगत रूपले सोमप्रसादजी राम्रै मान्छे हो । कम्युनिस्ट भनेर आएको हुनाले पनि । बोलीको हिसाबले भनि शिष्ट नै होला । त्यो ठीक छतर सोमप्रसादजीले कुनैक्लबमा गएर भाषण गरेको भरमा हामी वार्तामा दौडेर जाने कुरा त आएन नि ! ऋषि धमलाको क्लबमा हामी सोमप्रसादजीलाई भेट्न जाने कुरा त आएन नि? यो कस्तो भयो भन्नुहुन्छ भनेभित्र दबाबमा परेर वार्ताको विषय अघि सारेजस्तो तर मनसायचाहिँ वार्ताभन्दा दमन नै गर्नु ठीक हो भन्या’जस्तो देखियो ।

बाहिर भन्दाखेरि वार्ता भन्ने तर आफ्नो असफलतालाई ढाकछोप गर्नका लागि देशलाई द्वन्द्वतिर फसाउने खेल पो हो कि ! यहाँ गम्भीर कुरा छ नि केपी–प्रचण्डले बाहिर भन्दा हामी शान्तिका पक्षपाती हौँ भन्ने तर कुनै पहल नगर्नुको पछाडि के देखिन्छ त भन्दा पानी धमिलो बनाएर माछा मार्ने भन्याजस्तो कतै वार्ताको हल्ला गरेर सरकारको असफलता छ नि,त्यो असफलतालाई छोप्नका लागि देशलाई युद्धतिर धकेलिदिने त होइन ? द्वन्द्वर अशान्तितिर धकेलिदिएपछि आफ्नो सबै फच्चे हुन्थ्यो भन्ने कुरा त होइन ?भन्ने कुरा पनि यहाँ उठ्छ । यस्तो हो, हामी वार्तामा एकदमै लालायित, पूरै कुदिहाल्ने भन्नेमा पनि छौनौँ। हामी वार्ताबाट त्रसित पनि छैनौँ । वार्ता राजनीतिक आन्दोलनको एउटा आयाम हो । आउँछ, सामना गर्ने कुरा पनि आउँछ । आउँदैन, क्रान्तिमा अगाडि बढ्ने कुरा हुन्छ । यसलाई हामीले यसरी नै बुझ्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement