काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याउने प्रक्रिया सुरु गरेको छ । मंगलबार बिहान खानेपानीमन्त्री मणि थापाले नख्खु जेलमा रहेका नेकपाका तत्कालीन मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश अोलीलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको स्रोतले जानकारी दियो ।
भेटपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले पुरानो साथीको रुपमा उनीसँग भेट गरेको जानकारी दिए । उनले सरकारसँग वार्तामा आउन र त्यसको वातावरण मिलाउने ओलीलाई आग्रह गरेको जानकारी दिए । उनले साथी भएको नाताले सामान्य कुराकानी भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट समूहहरुलाई राजनीतिक मूलधारमा आउन पटक–पटक आग्रह गर्दै आइरहेका छन् । उनले केही दिनअगाडि पनि हिँसात्मक गतिविधि छोडेर वार्तामा आउने आग्रह गरेका थिए । त्यसको केही दिनपछि नै पूर्वमाअोवादीका नेताहरु विप्लवका नेताहरुसँग भेट गर्न जेलमै पुगेका हुन् ।
प्रधानमन्त्री अोलीले पूर्वमाओवादीका मन्त्रीहरुलाई परिचालन गरेर वार्तामा ल्याउने प्रयास जारी राखेका छन् । ओलीसहित धर्मेन्द्र बाँस्तोलासँग सरकारले वार्ताका लागि छलफल सुरु गरेको स्रोतले जानकारी दियो । केही समय अगाडि पक्राउ परेका बाँस्तोला पनि जेलमा नै छन् ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतलाई वार्तामा ल्याउनका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।
सरकारले २०७५ साल फागुनमा आपराधिक गतिविधि गरेको भन्दै नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको भन्दै प्रतिबन्ध लगाएको हो ।
त्यस्तै सरकारले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समिति गठन गरेको थियो । उक्त समितिले वार्तामा ल्याउन पटकपटक प्रयास गरे पनि सफल हुन सकेको थिएन ।




प्रतिक्रिया