प्रतिष्ठानले भन्योः रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो


काठमाण्डु – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ ।

प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले कोभिड–१९ का कारण समयमा नै शवको व्यवस्थापन गर्न कठिन भएको बताए । सो दिन कारागार प्रशासनले राती १०ः५५ बजे ल्याउँदा नै उहाँको मृत्यु भएको पाइएको साहले जानकारी दिए ।

मृतककी छोरीले अर्को दिन बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा गरेकाले दिइएको उनले बताए । छोरीले बाबुको फोटो खिचेर हालेपछि त्यो भाइरल भएको थियो । उनले भने, ‘जेलले किन अस्पताल ल्याउन ढिलो ग¥यो भन्ने जवाफ वीर अस्पतालले भन्न सक्दैन ।’

अस्पतालमा शव गृह नहुँदा त्यसको व्यवस्थापन हुन नसकेको उपकुलपति साहले बताए । समाान्य अवस्थामा अस्पतालले केही समय रहने शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा पठाउने गरेको थियो । कोभिड–१९ का कारण अहिले पठाउन सकिएको छैन ।

आर्थिक अभावका कारण अस्पतालले विभिन्न किसिमका समस्या झेल्न बाध्य भइरहेको उपकुलपति साहले बताए । पहिले अस्पतालको आन्तरिक स्रोतबाट नै प्रतिष्ठान र अस्पतालका कर्मचारीलाई तलब खुवाउने गरे पनि कोरोनाका कारण आन्तरिक स्रोत बन्द भएको छ । यसले गर्दा करारका कर्मचारीलाई तलब खुवाउन र दैनिक आवश्यक सामग्री खरिदमा समेत समस्या भएको उनको भनाइ छ । उनले भने, ‘समयमा तलब भत्ता दिन नसकेकाले हामी दैनिक कर्मचारी युनियनबाट घेरिइरहेका छौँ ।’

अस्पतालका स्वास्थ्यकर्मीमध्ये अहिले ६० जना सङ्क्रमित भएकाले आइसोलेसनमा छन् । अहिलेसम्म एक सय जना सङ्क्रमित भइसकेको उनले जानकारी दिए । देशको सबैभन्दा जेठो र सबैभन्दा बढी चाप भएको सो अस्पतालमा बिरामीको उपचारमा वेवास्ता गरेको भए यी स्वास्थ्यकर्मी सङ्क्रमित हुने अवस्था नआउने उनले बताए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अहिलेसम्म जोखिम भत्ता लिएका छैनन् । उनले भने, ‘हामीले अहिले केही दिनको मात्रै भत्ता दिनसक्ने अवस्था छ, तर उहाँहरु त्यो लिन मान्नुभएको छैन ।’ अस्पतालमा हुनुपर्ने जति सफाई नभएको उपकुलपति साहले स्वीकार गरे । अस्पतालको ढल सडक मुनिबाट लगिएको र एक घण्टा वर्षा हुँदा पनि भित्रै पानी आउने गरेको छ । यस विषयमा महानगरपालिकासँग पनि पटक पटक कुराकानी भएको उनले बताए । उनले भने, ‘महानगरले केही प्रयास गरे पनि पूर्णरुपमा व्यवस्थापन हुन सकेको छैन ।’

समिति सभापति जयपूरी घर्तीले अस्पतालमा अहिलेसम्म पनि शव गृह नहुनु गम्भिर विषय भएको बताइन । स्रोतको कसरी ठीक तरीकाले व्यवस्थापन गर्ने भन्नेमा अस्पताल प्रशासनले ध्यान दिनुपर्ने उनको भनाइ थियो । समितिले स्वास्थ्यका बिषयमा नियमित छलफल गरिरहेको उनले जानकारी गराइन ।

समितिकी सदस्य अञ्जना बिसङ्खेले जैसवालको मृत्युका बारेमा फैलिएको हल्लाका बारेमा सत्यतथ्य आउनुपर्नेमा जोड दिइन । समिति सदस्य खगराज अधिकारीले अस्पतालले आगामी दिनमा शौचालयदेखि यहाँको शव व्यवस्थापनसम्मको विषयमा ध्यान दिनुपर्ने औँल्याए ।

समितिलाई आज नै कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । उपसमितिले काठमाण्डु उपत्यकाका सरकारी र निजी अस्पताललगायत सरोकार राख्ने निकायका प्रतिनिधिसँग भेटेर र स्थलगत अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । उपसमितिले आगामी दिनमा उपत्यका बाहिरसमेत पुगेर त्यहाँको कोभिडको उपचारका अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ ।

प्रतिबेदनमा कोभिड–१९ को पिसिआर रिपोर्ट तुरुन्त प्रदान गर्न देशभरका ल्याबलाई एकीकृतरुपमा समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । जनशक्ति व्यवस्थापन गरी पिसीआर ल्याबलाई पूरा समय काम गर्ने र पिसीआर रिपोर्ट छिटोछरितो उपलब्ध गराउन पनि निर्देशन गरिएको छ ।

कोभिड आइसोलेसनका लागि स्विकृती दिँदा मापदण्डसहितको खानेकुराको ‘मेनु’ तयार गरी सम्झौता गर्न भनिएको छ । त्यस्तै, होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई पनि स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement