ऊर्जामन्त्री श्रेष्ठ दक्षिण कोरियाको भ्रमणमा नजाने

ऊर्जामन्त्री श्रेष्ठ दक्षिण कोरियाको भ्रमणमा नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्।

भोटेकोसी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले ऊर्जा संरचनामा व्यापक क्षति पुर्‍याउनुका साथै ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले अहिले विदेश भ्रमणभन्दा उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति नियमित बनाउने कामलाई प्राथमिकता दिनुपर्ने भन्दै मन्त्री श्रेष्ठले भ्रमण स्थगित गरेका हुन्।

उनको सचिवालयका अनुसार बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउने तथा निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्नुपर्ने अवस्था छ।

विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानका कामलाई समेत तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले कोरिया भ्रमण नगर्ने निर्णय गरेको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ सम्म आयोजना हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन निमन्त्रणा गरिएको थियो।

मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो।