वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन महसुल घटाउने तयारी

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन महसुल घटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन मौसमी विद्युत् महसुल र धेरै विद्युत् खपत गर्ने उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्।

विराटनगरमा मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका प्रतिनिधिसँगको छलफलमा उनले उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र अतिरिक्त विद्युत् स्वदेशमै उपयोग गर्ने गरी महसुल संरचना सुधारमा सरकार केन्द्रित रहेको बताए।

मन्त्री श्रेष्ठका अनुसार सुनसरी–मोरङ क्षेत्रमा नौ नयाँ सबस्टेसन थपिँदैछन्। ती सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो र दिगो हुने अपेक्षा गरिएको छ। उनले उद्योग स्थापना गर्नुअघि आवश्यक विद्युत् क्षमता, प्रसारण लाइन र आपूर्ति संरचनाबारे स्पष्ट जानकारी उपलब्ध गराउने प्रणाली विकास गरिने बताए।

उद्योगीहरूले नियमित र गुणस्तरीय विद्युत् आपूर्ति, बर्जु र केरौन सबस्टेसन शीघ्र निर्माण, कटहरी औद्योगिक क्षेत्रमा पूर्वाधार विस्तार तथा डिमान्ड शुल्क हटाउन माग गरेका छन्। उनीहरूले अनुमति र पूर्वाधार सुनिश्चित भए ५ देखि ५० मेगावाटसम्म विद्युत् खपत गर्ने गरी लगानी गर्न तयार रहेको बताएका छन्।

त्यस्तै, अर्बभन्दा बढी चुक्ता पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादनको अनुमति, ट्रान्सफर्मर तथा कन्डक्टर–केबलको गुणस्तर परीक्षण प्रभावकारी बनाउन र विद्युत्मा लगाइएको भ्याट हटाउनसमेत उद्योगीहरूले माग गरेका छन्।

विद्युत् महसुल र अन्य लागत घटाउन सके उत्पादन लागत कम हुने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनीहरूको भनाइ थियो । छलफलमा विद्युत् आपूर्ति, औद्योगिक पूर्वाधार, महसुल संरचना र स्वदेशमै विद्युत खपत बढाउने उपायबारे विचार आदानप्रदान भएको थियो ।