चिकित्सक कुटपिट प्रकरण: बिरामीको बिचल्ली, सरकारले बनायो वार्ता समिति


काठमाण्डु- नेपाल चिकित्सक संघको आह्वानमा आज आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ।

हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय विकास थापा र प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको विरोधमा संघको आह्वानमा सेवा बन्द गरिएको हो।

बन्दका कारण ओपीडीलगायतमा उपचार गर्न आउने बिरामी बिचल्लीमा परेका छन्। चिकित्सकहरु बिरामीको उपचार गर्न छाडेर आन्दोलन गरिरहेका छन्।

यसैबीच सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए ।

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ ।

उक्त समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आवहनसमेत गरिसकेको छ । चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement