वीरगञ्जमा भोलि फेरि डोजर चल्ने

वीरगञ्जमा भोलि फेरि डोजर चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीरगञ्जको मुख्य सडक विस्तारका लागि बाँकी संरचना हटाउन सोमबार फेरि डोजर चल्ने भएको छ ।

हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद समाधान गरी सोमबार बिहान डोजर चल्ने जानकारी दिए । उनका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ ।

सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको उनले बताए । अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ ।

सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत तीव्र गतिमा भइरहेको उनले बताए ।

सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २ सय घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो ।

सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो ।

सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताए ।