पोखरा– सूर्योदय सहकारीको रकम हिनामिना गरेको आरोप लागेका स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् ।
उनको समेत संलग्नतामा ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको छानबिन समितिले पत्ता लगाएको हो ।
सूर्योदय र जनजागृति सहकारी मिलेर २०७४ सालमा सूर्योदय सहकारी बनेको थियो । उक्त सहरकारीको सचिवका रूपमा रहेका कुँवरले बचत रकम अपचलन गरी एमालेका सांसदलाई दिएको र उनले समेत निर्वाचनमा खर्च गरेको पाइएको छानबिनमा संलग्न एक अधिकारीले बताएका छन् ।
छानबिनमा दोषी देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २८ गते कुँवर, बिरुवा सेवा केन्द्रका संयोजक तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाकी कर्मचारी सन्ध्या भण्डारी विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । तारेन्द्र र सन्ध्यालाई यसअघि नै पक्राउ गरिसकिएको स्याङजा प्रहरी प्रमुख एसपी शालिग्राम शर्माले जानकारी दिए ।
सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेलाई २० दिनअघि पक्राउ गरि अनुसन्धान थालिएको छ । सहकारीमा समस्या देखिएपछि प्रहरीले बचतकर्तालाई जाहेरी दिन आह्वान गरेको थियो । बचतकर्ता ध्रुवनारायण श्रेष्ठले साउन १० गते जाहेरी दिएका थिए । पालिका अध्यक्ष कुवँरलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ छ ।
प्रतिक्रिया