गुल्मी – बढ्दो बसाइँसराइँका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ ।
तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायिक रूपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।
महत्राले विगत ५ वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थालेकी हुन् । गाउँमा बसाइँसराइँका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उनले स्थानीयको सहमतिमा ५ हजारमा ३ रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गरेकी छन् । भारतको गोरखपुरबाट ८० हजारको बीउ ल्याएर सुरु गरेको उनको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।
महत्राले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । स्थानीय बलेटक्सारस्थित पैंचो पसलले उनले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । पैंचो पसलले उनले उत्पादन गरेको फूल थोकमा प्रतिकिलो २२० रुपैयाँका दरले १५ क्वीन्टल फूल खरिद गरेर लगिसकेको छ ।
महत्राले थोकमा प्रतिकिलो २२० र खुद्रामा २५० रुपैयाँका दरले फूल बिक्री गर्दै आएकी छन् । गत वर्ष मात्रै उनले ३ लाख ५० हजारको फूल बिक्री गरेकी थिइन् । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानीसमेत थप बढ्ने महत्राको भनाइ छ ।
सयपत्री फूलको खेती सुरु गरेको करिब ९० दिनमा उत्पादन लिन सकिने महत्रा बताउँछिन् । १ महिना जति मल्चिङ गरेर राख्ने र त्यसपछि ब्याडमा बिरुवा तयार गरेपछि रोप्ने गरिन्छ । बिरुवालाई आवश्यक मल, पानी र नियमित स्याहार गर्न सके पर्याप्त उत्पादन लिन सकिने उनी बताउँछिन् ।
अन्य कृषि उपजको तुलनामा फूल खेतीमा कम जोखिम र मनग्य आम्दानी हुने महत्राको अनुभव छ । बाँदरले पनि हानीनोक्सानी नगर्ने र चाँडै कुहिएर खेर नजाने भएका कारण फूल खेतीप्रति आकर्षण बढेको उनले बताइन् । फूलमा डढेलो लाग्ने, मुन्टा मर्ने तथा किरा र पुतलीको प्रकोप देखिने समस्या भए पनि समयमै मलजल, भिटामिन र आवश्यक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने महत्राको भनाइ छ ।
महत्राको बारीमा ढकमक्क फुलेका सयपत्री फूलले उत्पादन र आम्दानी मात्रै बढाएका छैनन्, गाउँको आकर्षणसमेत बढाएका छन् । फूलबारीमा तस्बिर खिच्न र टिकटक बनाउन आउनेको समेत घुइँचो लाग्ने गरेको छ ।
महत्राको व्यवसायमा उहाँको परिवारजनको पनि साथ रहेको छ । उनको व्यवसायलाई श्रीमान् र छोराबुहारीले पनि सघाउँदै आएका छन् । गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । मनमा इच्छाशक्ति, परिश्रम र उद्यमशीलता भए गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने उनले बताए ।
स्थानीयको माग अनुसार अझै ३ क्वीन्टल जति फूल तिहारका लागि राखिदिएको महत्राले बताए । उनले उत्पादन गरेको फूल प्रतिकिलो २२० रुपैयाँका दरले बिक्री गर्दा यस वर्ष फूलबाट मात्रै ३ लाख ९६ हजार आम्दानी हुने देख्छिन् । गत वर्ष ३ लाख ५० हजारको फूल बिक्री गरेकी महत्राले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने बताइन् ।


प्रतिक्रिया