काठमाण्डु – यस वर्षको लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत्को आन्तरिक माग बढेर १ हजार ८१३ मेगावाटसम्म पुगेको छ। ३ वर्षको तुलनात्मक तथ्यांकमा यसपालि सबैभन्दा उच्च माग हो ।
आन्तरिक माग बढे पनि नेपालले भारतबाट विद्युत् आयात गर्नुपरेन। उल्टै ५८७.३ मेगावाट विद्युत् भारततर्फ निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार आईतबार साँझ ६:१५ बजे नेपालको राष्ट्रिय उच्चतम विद्युत् माग १ हजार ८१३ मेगावाट पुगेको थियो।
सोही समयमा प्रणालीको उच्चतम भार (सिस्टम पिक लोड) २ हजार ४००.३ मेगावाट रेकर्ड भएको थियो । प्रणालीको कुल भारमा आन्तरिक खपतसँगै भारततर्फ निर्यात गरिएको विद्युत् पनि समावेश छ ।
प्राधिकरणका अनुसार विद्युत् खपत समयमा निजी क्षेत्रका ऊर्जा उत्पादकबाट १ हजार ५३६.५ मेगावाट विद्युत् उत्पादन भएको थियो ।
प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२ मेगावाट, नदीप्रवाह तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३ मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३ मेगावाट विद्युत् उत्पादन भएको थियो । तापीय आयोजनाबाट उत्पादन भएको थिएन भने विद्युत् आयात शून्य थियो ।

कुल प्रणाली भार २ हजार ४००.३ मेगावाटमध्ये १ हजार ८१३ मेगावाट आन्तरिक खपत भएको थियो भने बाँकी ५८७.३ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
यस वर्ष काठमाण्डु उपत्यकामा पनि विद्युत् खपत उल्लेख्य बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार लक्ष्मीपूजाको दिन काठमाण्डु उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५ मेगावाट पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ८७.०१ मेगावाट बढी हो ।
विगत ३ वर्षको लक्ष्मी पूजाको तथ्यांक हेर्दा राष्ट्रिय विद्युत् माग र काठमाण्डु उपत्यकाको खपत निरन्तर बढेको देखिन्छ । २०८१ सालको लक्ष्मी पूजामा राष्ट्रिय उच्चतम माग १ हजार ६०२.२ मेगावाट रहेको थियो । २०८२ सालमा बढेर १ हजार ७४५ मेगावाट पुगेको थियो । यस वर्ष त्यो बढेर १ हजार ८१३ मेगावाट पुगेको छ ।

काठमाण्डु उपत्यकाको अधिकतम विद्युत् माग २०८१ सालमा ३८०.५ मेगावाट, २०८२ सालमा ४०२.४९ मेगावाट र यस वर्ष ४८९.५ मेगावाट पुगेको छ ।
तर विद्युत् उत्पादन र निर्यातको अवस्था भने अघिल्लो वर्षको तुलनामा घटेको छ । २०८१ सालको लक्ष्मी पूजामा कुल विद्युत् उत्पादन १ हजार ८५५ मेगावाट रहेकोमा २०८२ सालमा बढेर २ हजार ७६० मेगावाट पुगेको थियो । यस वर्ष कुल उत्पादन २ हजार ४००.३ मेगावाटमा सीमित भएको छ। यसको कारण भोटेकोसी क्षेत्रमा ठूला विद्युत् परियोजनामा भदौ १० गतेको बाढीले पुगेको क्षति हो ।
बाढीले विद्युत् निर्याततर्फ पनि २०८२ सालको तुलनामा गिरावट आएको छ। २०८१ सालको लक्ष्मी पूजामा २५२.९ मेगावाट विद्युत् निर्यात भएको थियो भने २०८२ मा निर्यात बढेर १ हजार १५ मेगावाट पुगेको थियो । यस वर्ष भने ५८७.३ मेगावाट मात्रै निर्यात भएको छ ।
यसरी ३ वर्षको तुलनात्मक तथ्यांकमा २०८२ सालमा विद्युत् उत्पादन र निर्यात सबैभन्दा बढी देखिएको छ भने यस वर्ष आन्तरिक विद्युत् माग सबैभन्दा उच्च पुगेको छ। विशेषगरी काठमाण्डु उपत्यकामा विद्युत् खपत तीव्र रूपमा बढेको देखिन्छ।
प्राधिकरणको सिस्टम पिक समरीअनुसार यस वर्ष लक्ष्मीपूजाको उच्च मागका बेला विद्युत् प्रणालीको फ्रिक्वेन्सी ५०.१२० हर्ज कायम रहेको थियो । उक्त समयमा विद्युत् आपूर्तिमा कुनै अवरोध नभएको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया