काठमाडौंमा राहत बोकेर कोठा चहार्दै सांसद भट्टराई, समस्या परे फोन गर्न आग्रह


खोटाङ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारिराखेका छन् । विभिन्न कामको सिलसिलामा जिल्लाबाट काठमाडौँ गएर बसोबास गर्दै आएका जिल्लावासी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण जिल्ला फर्कन नपाएर अलपत्र परेकालाई भोकै बस्न नपरोस् भन्दै सांसद भट्टराई खाद्यान्नसहित जनताको कोठामै पुगेर राहत सामग्री वितरण गरिरहेका हुन् ।

‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा परेर काठमाडौँमा बिचल्ली परेका खोटाङ्गे जनतालाई भोकै हुन नदिन उनीहरुको कोठामै राहत पु¥याएको सांसद भट्टराईले बताए ।‘लकडाउनका कारण कोही खोटाङ्गे जनता भोकै बस्नु पर्दैन’,, उनले भने, ‘समस्या भयो भने मलाई यो नम्बर ९८५१०६०२८८ मा फोन गर्नुस् । म तपाईँको कोठामै राहत सामग्री लिएर आउने छु ।’

केही दिनदेखि काठमाडौँमा रहेका विद्यार्थी, मजदुर, अपाङ्ग र असहाय नागरिकलाई अभियानकै रुपमा राहत सङ्कलन गरेर वितरण गरिरहेको सांसद भट्टराईले बताए । आफूले प्रचारमुखी नभइ लकडाउनको मारमा परेका जिल्लावासीलाई थोरै भए पनि सहयोग गर्ने उद्देस्यले राहत वितरण गरेको सांसद भट्टराईको भनाइ छ ।

सासंद भट्टराईले राहत बाँड्दै हिँडेको तस्वीर समाजिक सञ्जाल फेसबुकमा राख्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका उपप्रमुख विणादेवी राईले राहत वितरण गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरेकी छन् ।

‘लकडाउनका कारण काठमाडौँमा अलपत्र बनेर रहनुहुने खोटाङ्गे विद्यार्थी र मजदुरलाई ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानमा खोटाङका प्रतिनिधिसभा सदस्य भट्टराई, समाजसेवी देवान राई, भक्त थापालगायत राहत वितरणमा खटिरहनुभएका मनकारीलाई देख्दा धेरै खुशी लागेको छ’, उनले लेखेको फेसबुक स्टाटसमा भनिएको छ, ‘कोरोना भाइरसबाट सिर्जित लकडाउनको यो विपद्को घडीमा सकारात्मक सोच राखेर राहत वितरण गर्ने व्यक्ति तथा संस्था सबैलाई मुरीमुरी धन्यवाद ।’

सांसद भट्टराईले विभिन्न दातालाई अनुरोध गर्दै सङ्कलन गरिएका सामग्री आफैँ प्याकिङ गर्दै गाडीमा हालेर बूढानीलकण्ठ, महाराजगञ्ज, बसुन्धरा, गोङ्गबु, माछापोखरी, कलङ्की, कीर्तिपुर, भक्तपुर थिमिलगायत ठाउँमा अलपत्र खोटाङ्गे जनतालाई वितरण गरिसकेका छन् । लकडाउनका कारण घर फर्कन नपाएर अलपत्र परेकै ठाउँमा राहत सामग्री पाएपछि खोटाङ्गे जनता पनि हर्षित छन् ।

विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा क्रियाशील सांसद भट्टराईले यसअघि नै आफूले राज्यबाट पाउने एक महिनाको सेवासुविधावापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेका थिए । दश स्थानीय तह रहेको जिल्लाका कतिपय स्थानीय तहले पनि लकडाउनका कारण काठमाडौँमा रोकिएका आफ्ना जनतालाई सांसद भट्टराईकै हातबाट राहत वितरण गरिरहेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले भने आफैँ गएर आफ्नो जनतालाई राहत उपलब्ध गराउनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले धमाधम राहत वितरणको काम भइरहेको छ । लामो समयको लकडाउनका कारण नियमित औषधि सेवन गर्न नपाएका दीर्घरोगीलाई समेत जिल्लाका सबै स्थानीय तहले निःशुल्क औषधि खरिद गरेर उपलब्ध गराइरहेका छन् ।

उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्यास्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायत समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई स्थानीय तहका जनप्रतिनिधिले उनीहरुको घरैमा लगेर निःशुल्क वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement