६ प्रतिशत आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री

६ प्रतिशत आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार गरेको पोष्ट बजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रतिक्रिया आएकाले कार्यान्वयन पनि सकारात्मक रूपमै हुने विश्वास व्यक्त गरे ।

७.५ प्रतिशतको आर्थिक वृद्धिदर भएको इतिहास रहेकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भवन रहेको उनको भनाइ छ ।

‘बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ । सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइनेछैन ।’

अर्थमन्त्री पौडेलले लक्ष्यअनुसारको राजश्व संकलनका लागि थोरै मिहिनेत गर्न आवश्यक रहेको बताए ।

उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाव गरेर बस्नेभन्दा पनि साँवाब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरी बजेट आएको बताए । स्रोतको विषयमा चिन्ता नगर्न सबैलाई अर्थमन्त्रीले आग्रह गरे ।

गत आर्थिक वर्षको र चालु आवको आर्थिक वृद्धिदर र मुद्रास्फितिलाई लिएर आधार बनाएको उनले बताए ।

सरकारले गर्नुपर्ने काम सबै गर्छ भन्ने बजेटले निजी क्षेत्रलाई सन्देश दिएको उनले बताए । निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको अवस्था रहेको उनले उल्लेख गरे ।