काठमाण्डु– प्रहरीले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको निवासबाट प्रहरीले के–बरामद गरेको थियो भन्ने सार्वजनिक भएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा (२२) र मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा (३५) बमोजिम विषेश अदालतमा बिहीबार दायर भएको दीपक भट्टसमेतको पुरक अभियोगमा पौडेलको निवासबाट बरामद भएको सामान उल्लेख छ ।
ललितपुरको सैंबु आवास क्षेत्रस्थित पौडेल बस्ने गरेको भाडाको घरबाट प्रहरीले एप्पल कम्पनीको ल्यापटप नाथ एक, ८ जिबीको पेन ड्राइभ तथा विभिन्न ५ वटा बैंकका चेकबुक बरामद भएको अभियोजनपत्रमा छ ।
‘ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर–२५ सैंबु आवासीय क्षेत्र, घर नम्बर ११७ पूर्व बाटो, उत्तर बिजुलीको पोल, दक्षिण खाली चौर, पश्चिम पहेंलो तीन तले घर चार किल्ला रहेको श्री विष्णुप्रसाद पौडेल डेरा गरी बस्ने दुई तलाको सेतो रङको घर रहेको । घरभित्रको पहिलो तलाको पूर्वपट्टीको कोठाबाट एप्पल कम्पनीको ल्यापटप नाथ १ ९एक० पेन ड्राइभ सान डिक्स कम्पनी ८ जिबीको थान १ ९एक० र विभिन्न बैंकका चेकबुकहरु थान ५ (पाँच) बरामद भएको भन्ने व्यहोराको बरामदी मुचुल्का’, आरोपपत्रमा लेखिएको छ ।
जेनजी आन्दोलनकारीले गत २४ भदौमा ललितपुरको भैंसेपाटी आवास क्षेत्रस्थित निजी निवास जलाइदिएपछि पौडेल सैंबुमा घर भाडामा लिएर बस्दै आएका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्धामा पक्राउ परी हाल थुनामा रहेका व्यवसायी दीपक भट्टसँगको शंकास्पद शेयर कारोबारमा संलग्नता देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत ८ असारमा सुर्खेतबाट पक्राउ गरेको थियो ।
विशेष सरकारी वकिल कार्यालयले बिहीबार पौडेलविरुद्ध विशेष अदालतलमा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध २० करोड ९० लाख बिगो कायम गरेर दीपक भट्ट समेतको मुद्दामा पुरक आरोपपत्र दायर भएको हो । पौडेल सम्पत्ति शुद्धीकरण विभागको हिरासतमा छन् ।




प्रतिक्रिया