प्रधानमन्त्री प्रचण्ड जता गए पनि ‘एमालेको भूत’बाट आक्रान्त : नेता रिजाल


काठमाण्डु – नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जता गए पनि ‘एमालेको भूत’बाट आक्रान्त देखिएका बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले प्रचण्ड एमालेको नाम लिएर भाषण बिकाउने अवस्थामा पुगेका बताए ।

उनले फेसबूकमा लेखेका छन्, ‘मार्क्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्रको पहिलो वाक्यमै ‘आज सारा युरोप कम्युनिस्टको भूतबाट आक्रान्त छ’ भने जस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल आज जता गए पनि ‘एमालेको भूत’बाट आक्रान्त देखिनुहुन्छ । कथित समाजवादी मोर्चा बनाए पनि, दक्षिणपन्थी/बुर्जुवा कांग्रेसको शरणमा परे पनि, बाहिरियाहरूका लागि ‘कम्फर्टेबल’ भए पनि नेकपा एमालेसँग नसकिने भएपछि र आफ्ना कार्यकर्ताले पत्याउने कुनै एजेन्डा नभएपछि एमालेको नाम लिएर भाषण बिकाउने अवस्थामा पुग्नुभएको छ । एमालेमा बिग्रह होला र आफ्नो पार्टी बलियो होला भन्ने कल्पना आफैंमा परपीडक मानसिकता त हो नै, नत्र आफ्नो पार्टीको भविष्य छैन भन्ने स्वीकारोक्ति पनि हो । खेलो–फड्कोबाट ३२ सिटले सरकारको नेतृत्व गर्न पाए पनि ०६४ यताका हरेक चुनावमा तीब्र गतिमा ओरालो लागिरहेको माओवादीलाई आफ्नै बुतामा चुनाव लडेमा २०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न मुस्किल छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement