धनगढी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
अवरोधपछि शनिबार आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुन:बस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
शनिबार प्रदेश सभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिएका थिए ।
बैठकमा कांग्रेस नेता विक्रम धामीले अर्थमन्त्रीले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको र सरकारको नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टीको संसदीय दललेसमेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएपछि बजेट पारित गर्न सहमत भएका अवस्थामा सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले सभामुखले समेत ७ सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेको उल्लेख गर्दै त्यस कारण पनि वर्तमान सरकार सत्तामा रहिरहनु उपयुक्त नभएको कांग्रेसको धारणा रहेको बताए ।
कांग्रेसले सरकारविरुद्ध नाराबाजीसहित अवरोध जारी राखेपछि सभामुख भण्डारीले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । प्रतिपक्षीसँग सहमति जुट्न नसकेपछि पुन:बैठक नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
शनिबारको बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।
यसअघि आर्थिक वर्ष सुरु भएको करिब ३ महिनासम्म यहाँ ‘बजेट होलीडे’को अवस्था रहेको थियो । बजेटकै कारण तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार प्रदेशसभामा बजेट पेस गरिसकेपछि विघटन भएको थियो । त्यसपछि बनेको मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले गत असोज २६ गते प्रदेशसभाबाट प्रतिपक्षीको बहिष्कारका बिच बहुमतले बजेट पारित भएको थियो । हालको बजेटमाथि पनि पार्टीभित्र र बाहिर विरोध भइरहेको छ ।
कांग्रेस बजेट पारित गर्न सरकार र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सरकारले राजीनामा दिनुपर्ने अडानमा छ ।


प्रतिक्रिया