काठमाण्डु– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा बढ्दो निराशा, आत्मदाहका घटना र सुकुमबासीको दयनीय अवस्थाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत शर्माले पुराना दलहरुप्रति जनताको आशा टुटेको स्वीकार गर्दै नयाँ सरकारप्रतिको विश्वास पनि क्रमशः खण्डित हुन थालेको बताए । सरकार सिंहदरबारमा मात्र नभई संसद्मा, सुकुमबासी र निराश युवाको अगाडि भेटिनुपर्ने उनको भनाइ छ ।
मुगुको विकट गाउँबाट आएर काठमाण्डुमा आत्मदाह गरेका गणेश नेपाली र कीर्तिपुरको होल्डिङ सेन्टरमा साना बालबालिका भोकले तड्पिएको विषय देख्न सरकारलाई आग्रह गरे ।
विस्थापित सुकुम्बासी राखिएका होल्डिङ सेन्टरमा कोही पनि भोकै बस्नु नपर्ने अवस्था निर्माण गर्न शर्माले सरकारको ध्यानाकर्षण गराए । त्यसमा आफूहरु सरकारलाई सहयोग गर्न तत्पर रहेको स्पष्ट गरे ।
‘हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो, आज फेरि गणेश नेपालीले आत्मदाह गर्नुभयो । समाजमा यस्तो निराशा किन बढ्दैछ ? मानिसमा आशा किन मर्दैछ ? पुरानाप्रतिको विश्वास तुट्यो, तर नयाँप्रतिको विश्वास पनि किन क्रमशः खण्डित हुँदैछ ?’, शर्माले भनेका छन्, ‘सरकारले बर्खाको समयमा उठिबास लगाएर आफ्नै देशभित्र शरणार्थीजस्तै बनाएका सुकुमबासीहरू अझ कष्टकर जीवन बिताइरहेका छन् ।’
मुलुकको अवस्थाले असह्य पीडा भएर आफू सरकार खोजिरहेको शर्माले बताए ।
यस्तै, उनले होल्डिङ सेन्टर बाढीले डुबाउँदा साथ दिन गएका युवाहरूलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेकामा आपत्ति जनाए ।
शर्माले सुकुमबासीका पक्षमा बोल्नेलाई मात्र नभई सुकुमबासीलाई नै जेल हाल्न समेत सुझएका छन् ।
‘अब के गर्ने ? सुकुमबासीलाई पनि जेल हालिदिने ? अनि भन्ने कम्तीमा जेलमा त खान र ओतको व्यवस्था त छ’, शर्माले भने ।




प्रतिक्रिया