काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मान्छेको स्वास्थ्यमा सामान्य समस्या भएजस्तै राजनीतिमा विवाद भइरहने भएकाले अलमलमा नपर्न अपिल गरेका छन् ।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजनीतिक जीवनमा सामान्य विवाद आउनु अस्वाभाविक नभएको बताए । उनका अनुसार पार्टीभित्र सानातिना विवाद देखिए पनि पार्टी फुट्दैन ।
देश बाढीपहिरोको विपद् र शोकमा रहेकाले आईतबारदेखि सुरु हुने पार्टीको महाधिवेशन अत्यन्तै सादगी र तडकभडकविहीन रूपमा सम्पन्न गरिने बताए ।
उनले भने, ‘मान्छेको स्वास्थ्यमा सामान्य समस्या आएजस्तै राजनीतिमा पनि कहिलेकाहीँ विवाद हुन्छन्, तर यसकै कारण कोही पनि अलमलमा पर्नु पर्दैन । १८ गते सुरु हुने महाधिवेशनले सबैलाई समेटेर लैजान्छ । चुनाव हार्दा असन्तुष्टि भए पनि अन्तत: सबै एकै ठाउँमा मिल्छन् ।’
यसैबिच कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । प्राकृतिक विपद्का कारण सडक अवरुद्ध हुँदा जिल्लाबाट आउने प्रतिनिधिहरूलाई असहज भएकाले १६ गते तय भएको उद्घाटनसत्र २ दिन ढिला गरी १८ गते सारिएको पार्टीले बताएको छ ।




प्रतिक्रिया