विश्वप्रकाश शर्माले भने, ‘डायस्पोराको नेपाली धन र मनलाई नेपाल निर्माणमा जोड्नुपर्छ’

विश्वप्रकाश शर्माले भने, ‘डायस्पोराको नेपाली धन र मनलाई नेपाल निर्माणमा जोड्नुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीको धन, सीप र भावनालाई नेपाल निर्माणमा जोड्न सरकार, निजी क्षेत्र र डायस्पोराबीच सहकार्यको नयाँ लगानी मोडेल बनाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार मन्तव्य दिँदै शर्माले विदेशको नेपाली समुदायलाई नेपालको विकाससँग जोडेर समृद्धिको नयाँ मोडेल अघि बढाउनुपर्ने बताए।

‘डायस्पोरामा रहेको नेपाली धन र नेपाली मनलाई नेपाल निर्माणमा कसरी लगाउने भनेर फराकिलो मन बनाउनुपर्छ,’ उनले भने, ‘दुईटा नेपाल छ, मेचीदेखि महाकालीसम्मको नेपाल र डायस्पोरामा रहेको नेपाल। यी दुई नेपाललाई मिलाएर विकास गर्नुपर्छ।’

शर्माले सरकार, डायस्पोरा र निजी क्षेत्रको साझेदारीमा लगानीको वातावरण बनाउनुपर्ने बताए। विदेशमा रहेका नेपालीलाई निश्चित अधिकारसहित नेपालसँग जोड्ने नीति आवश्यक रहेको उनको भनाइ थियो।

उनले डायस्पोरामा रहेका नेपालीलाई नागरिकताको अधिकार, नेपालमा लगानी गर्न सहज वातावरण तथा विदेशमै बसेर पार्टी नेतृत्व चयनमा सहभागी हुन पाउने अधिकार दिनुपर्ने धारणा राखे।

‘जनताको आवेगलाई विश्वासमा बदल्न सकेनौँ’

शर्माले फागुन २१ को निर्वाचनपछि नयाँ सरकार गठन भए पनि जनतामा देखिएको असन्तुष्टि र आवेगलाई विश्वासमा बदल्न नसकिएको बताए।

‘किन हरेक मान्छे हरेक मान्छेसँग असन्तुष्ट छ ? किन हरेक मान्छे हरेक मान्छेसँग रिसाएको छ ?’ उनले प्रश्न गरे।

समुन्नतिको यात्रामा अघि बढ्दा समाजमा उठेका सबै प्रश्न सुन्नुपर्ने र सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

देवानगञ्जसहित देशका विभिन्न ठाउँमा भएका घटनामा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गरेको दाबी गर्दै शर्माले राजनीतिक दलहरूले जनताको असन्तुष्टि बुझेर अघि बढ्नुपर्ने बताए।

‘कांग्रेसमा नयाँ पुस्ता स्थापित हुँदैछ’

शर्माले कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहेको बताए। विगतमा ८० वर्षको उमेरका सभापतिबाट नेतृत्व हुँदै आएको कांग्रेस अहिले ५० वर्षको सभापतिको नेतृत्वमा पुग्ने चरणमा रहेको र ३५ वर्षभन्दा कम उमेरका प्रतिनिधिको समेत उल्लेख्य सहभागिता रहेको उनले बताए।

उनले नयाँ पुस्ताको सहभागितालाई कांग्रेस रूपान्तरणको संकेतका रूपमा व्याख्या गरे।

शर्माले सही दृष्टिकोण, देश निर्माणको स्पष्ट भिजन र कांग्रेस रूपान्तरणको एजेन्डासहित गगन थापालाई सभापति बनाएर विशेष महाधिवेशनबाट कांग्रेस अघि बढेको बताए।

‘बीपीले स्थापना गरेको दललाई पछिल्लो पुस्ताले हाँकेर देशलाई उज्यालो बनाउन काम गर्नेछ,’ उनले भने। उनले कांग्रेसको १५औँ महाधिवेशनलाई उत्साहका साथ सफल बनाउन कांग्रेसजनलाई आग्रहसमेत गरे।