सीमा विवाद सल्ट्याउने जिम्मा अब प्रधानमन्त्री ओलीको काँधमा छः विश्वप्रकाश शर्मा


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले चाँडो वार्ता टोली गठन गर्नुपर्ने माग गरेको छ । आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने,‘डा केसीको अवस्था प्रतिकुल बन्दै गएको छ । अनशन थालेको ९ दिनमा लागेको छ । सरकारले चाँडो वार्ता टोली गठन गरी जायज माग पुरा गरोस् । उहाँको ज्यानको रक्षा होस् ।’

मेडिकल क्षेत्रको व्यापक सुधारको माग गर्दै डा केसीले डडेल्धुरा पुगेर अनसन थालेका हुन् । त्यसैगरी प्रवक्ता शर्माले निर्वाचनमा सत्तारुढ दलले आचारसंहितामा रहेर स्वस्थ प्रतिस्पर्धा गर्न समेत आग्रह गरेको छ ।

कांग्रेसले भारतले जारी गरेको नक्सामा नेपालको अभिभाज्य भूमि समाहित गरेकोमा विरोध समेत गरेको छ । सीमा विवाद सल्ट्याउने जिम्मा अब प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा रहेको शर्माले बताए ।

शर्माले भने, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रै भएको धारणा पार्टीका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकमा प्रस्तुत गरिसक्नुभएको छ । अब बल प्रधानमन्त्रीको खुट्टामा छ । सबै पार्टीले बल पास दिइसकेको छ । हामी सतर्कतापूर्वक हेरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement