भाजपालाई हराउन आम आदमी पार्टीसँग गठबन्धन गर्ने तयारीमा कांग्रेस


काठमाडौं – यतिबेला भारतमा चुनावी माहोल छाएको छ । लोकसभा निर्वाचन आउँदै लाग्दा एकले अर्कालाई आरोप लगाउनेदेखि चुनावी गठबन्धनसम्मको कुरा भइरहेको छ ।

निर्वाचन आउनै लाग्दा भारतीय कांग्रेस पार्टीले अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग चुनावी तालमेल गर्ने विषयमा छिट्टै निर्णय लिने भएको छ ।

आम आदमी पार्टीसँग तालमेल गर्नकै लागि कांग्रेस अध्यक्ष राहुल गान्धीले शनिवार अचानक दिल्ली कांग्रेसकी अध्यक्ष शीला दीक्षित र पार्टीका दिल्ली व्यवस्थापक पीसी चाकोसँग गोप्य बैठक गरे । स्रोतका अनुसार २ दलबीच गठबन्धन हुने निश्चित मानिएको छ ।

यता राहुलले गठबन्धनलाई समर्थन गरेको र यसको घोषणा छिट्टै हुने बताइएको छ । त्यस्तै दिल्ली कांग्रेसकी अध्यक्ष शीला दिक्षितले पनि गठबन्धन गर्ने कुरालाई सहमति जनाएकी स्रोत बताउँछ ।

पार्टीका दिल्ली व्यवस्थापक पीसी चाकोका अनुसार दिल्लीका सात सीटमा मात्र आपसँग गठबन्धन हुने स्पष्ट पारे । पञ्जाब र हरियाणामा आपसँग गठबन्धनको विषयमा सोध्दा कुनै प्रतिक्रिया दिएनन् ।

यता आप नेता अरविन्द केजरीवालले पनि पार्टी नेताहरूसँग छुट्टाछुट्टै गोप्य बैठक गरेका छन् । कांग्रेस पार्टीले हरियाणामा आपसँग गठबन्धन गरेमा मात्र कुरा मिल्नेछ ।

दिल्ली, हरियाणा र चण्डीगढमा लोकसभामा कुल १८ सीट छन् । दिल्ली तथा हरियाणामा गठबन्धनका लागि कांग्रेसले निर्णय लिएमा गठबन्धन हुनेछ । दिल्ली मात्रका लागि आपले कांग्रेससँग गठबन्धन नगर्ने भएको छ ।

पञ्जाबमा आपले कांग्रेससँग गठबन्धन बनाउन चाहेको छ । तर, पञ्जाबका मुख्यमन्त्रीले नमानेको बताइएको छ ।

आपले हरियाणामा पार्टीका तर्फबाट ३ सीट कांग्रेसलाई छुट्ट्याउने प्रस्ताव गरेको छ । अनि हरियाणामा आपलाई जति सीट दिइन्छ, दिल्लीमा उसले कांग्रेसलाई त्यति नै सीट छोड्ने प्रस्ताव गरेको छ ।

गठबन्धन बनाइएमा हरियाणामा भाजपालाई हराउन सकिने आपको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement