भारतमा ‘मोदी म्याजिक’ :भाजपा तेस्रोपल्ट सत्तानजिक,केजरीवालको बेहाल !


काठमाण्डु – भारतको गुजरातबाट उदाएका भारतीय जनता पार्टी (भाजपा) नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार सत्तामा हाबी भएका छन् । उनी जहाँ पाइला टेक्छन्,त्यहाँ भाजपाले चुनाव जित्दै आएको छ ।

भाजपाले मोदीलाई गुजरातमा मुख्यमन्त्री बनाउँदा लगातार चुनाव जित्यो । मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दा भाजपाले लोकसभा चुनाव पनि लगातार जित्दै आएको छ ।

भारतमा अर्काे लोकसभा चुनाव हुने मिति नजिकिँदैछ । २०२४ अप्रिल र मे महिनामा लोकसभा चुनाव हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी लोकसभा चुनावपछि भारतमा १८औं लोकसभा गठन हुनेछ । लोकसभा चुनावमा बहुमत ल्याउने दलले ५ वर्ष भारत सरकार चलाउँछ ।

लोकसभा चुनावको केही महिनाअघि ५ प्रदेशमा भएको चुनावमध्ये ३ प्रदेशमा भाजपाले जबरजस्त बहुमत हात पारेको छ । मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले बहुमत ल्याएको छ । पहिल्यैदेखि भाजपाको प्रभाव नभएका तेलंगानामा भारतीय कांग्रेसले जितेको छ भने मिजोरममा क्षेत्रीय दल हाबी भएका छन् ।

भाजपाले मध्य प्रदेशमा आफ्नो सरकार कायमै राखेको छ भने राजस्थान र छत्तीसगढमा कांग्रेसको सरकार विस्थापित गर्दै नयाँ सरकार बनाउने भएको छ । छत्तीसगढमा भाजपाले आश्चर्यजनक जीत हात पारेको छ । चुनावी नतिजा विश्लेषकदेखि कांग्रेसको आन्तरिक सर्वेक्षणमा कांग्रेसको जीत निश्चित देखिएका बेला मतगणनामा भाजपाले सानदार जीत हासिल गरेको छ ।

मध्य प्रदेशमा २३० सिटमा भएको चुनावमा ११६ सिट जितेर बहुमत पुग्ने भए पनि भाजपाले १६३ सिट जितेको छ भने कांग्रेस ६६ सिटमै सीमित भएको छ । राजस्थानमा १९९ सिटमा भएको चुनावमा १०० सिटले बहुमत पुग्ने भए पनि भाजपाले ११५ सिट जितेको छ भने कांग्रेस ६९ सिटमा सीमित भएको छ । छत्तीसगढमा ९० सिटमा भएको चुनावमा ४६ सिटले बहुमत पुग्ने भए पनि भाजपाले ५४ सिट जितेको छ भने कांग्रेस ३५ सिटमै सीमित भएको छ । तेलंगानामा ११९ सिटमा भएको चुनावमा बहुमतका लागि ६० सिट चाहिनेमा कांग्रेसले ६४ सिट जितेको छ भने क्षेत्रीय दल भारत राष्ट्र समिति (बीआरएस) ३९ सिटसहित दोस्रो भएको छ, त्यहाँ भाजपाले ८ सिट मात्रै जितेको छ ।

विधानसभा चुनावमा भाजपाको जीतलाई प्रधानमन्त्री मोदीको ‘म्याजिक’ कायमै रहेको रूपमा भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । चुनावका क्रममा मोदीले कैयौ स्थानमा र्‍याली र सभा गरेका थिए । अर्काेतिर भाजपाले हिन्दूत्वको कार्डलाई भरपूर प्रयोग गरेको, नारी सुरक्षाको नारा प्रभावकारी बनेको, सुशासनको मुद्दामा मतदाता आकर्षित भएका जनाइएको छ ।

भारतमा भएकका पछिल्ला विधानसभा चुनावमा भाजपाको प्रभाव बढ्दै जानुले आगामी लोकसभा चुनाव पनि भाजपाकै पोल्टामा जाने विश्लेषण थालिएको छ । कांग्रेसको नेतृत्वमा विपक्षी दलहरू एकजुट हुन नसक्नु र मोदीलाई टक्कर दिनसक्ने चामत्कारिक नेतृत्व नहुँदा भारतमा लगातार भाजपालाई लाभ मिलिरहेको छ ।

राजधानी दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) को हालत पनि पछिल्लो चुनावमा बेहाल देखिएको छ । मध्य प्रदेश, राजस्थान र छत्तीसगढका २०० बढी सिटमा विधानसभा चुनाव लडेको आपले १ सिट पनि जित्न सकेन । तीनै प्रदेशमा चुनाव प्रचारका क्रममा मुख्यमन्त्रीद्वय केजरीवाल र भगवंत मान थुप्रै सभा र र्‍यालीमा सहभागी भएका थिए तर मतदातालाई प्रभावित पार्न सकेनन् । दिल्ली र पञ्जाबमा निःशुल्क बिजुली, पानी दिएको नाराले पनि मतदातालाई प्रभावित गर्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनाव आयोगका अनुसार आपले छत्तीसगढमा ०.९७ प्रतिशत, मध्य प्रदेशमा ०.४२ प्रतिशत र राजस्थानमा ०.३७ प्रतिशत भोट पाएको छ ।

भाजपाले जितेका तीनै प्रदेशमा २०२४ को लोकसभा चुनावमा फाइदा हुने गरी सरकार बनाउने भएकाले भाजपा मतदातामाझ झन् प्रभावशाली बन्ने बताइन्छ । पछिल्ला केही वर्षयताका निर्वाचनमा भाजपा चुनावी रणनीतिमा सफल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement