स्वास्थ्यकर्मी, सेना र प्रहरीको भरमा रक्तदान


हेमन्त केसी/जाजरकोट – ब्लड बैंक नहुँदा कर्णाली प्रदेशका दुर्गम जिल्लामा अधिकांश सुत्केरी महिलाको ज्यान चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । अपर्याप्त उपकरण र जनशक्ति बीचका यहाँका चिकित्सले उपचार गरी बिरामी बचाउन रक्तदानसमेत गर्दै आएका छन् ।

गत भदौ १० गते रक्तअल्पता भएर जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी छेडागाड नगरपलिका–११ झाप्रा औलाकाटियाकी २२ वर्षीया लक्ष्मी चदाराको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा कार्यरत डा भूपेन्द्रप्रकाश मल्ल, नेपाली सेनामा कार्यरत सैनिक जवान श्रीकृष्ण गैरे र नेपाल प्रहरीका प्रहरी जवान लोकबहादुर मल्लले एक–एक पिन्ट रगत दिएपछि लक्ष्मीको ज्यान बचेको थियो ।

मल्लले योसहित दुईपटक रगत दिएर सुत्केरीको ज्यान बचाएको बताउनुभयो । लक्ष्मीका आफन्तले रगत जताततै खोजे पनि नपाएपछि अन्तिममा चिकित्सक आफैँले रगत दिएर ज्यान बचाउनुपरेको थियो । त्यस्तै स्वास्थ्य सेवा कार्यालयमा कार्यरत नेप्लिजा पुनले पनि अर्की सुत्केरीलाई रगत दिएर ज्यान बचाएको बताइन् । नेप्लिजाजस्तै जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा दर्जनौँ सुत्केरीको स्वास्थ्यकर्मी, नेपाली सेना र प्रहरीले रगत दिएर ज्यान बचाएका छन् ।

त्यस्तै रुकुमपश्चिमको चौरजहारी अस्पतालमा सुत्केरी हुन गएकी जाजरकोट भेरी नगरपालिका–४ शान्तिचौताराकी ३६ वर्षीया देवी खड्काको सुत्केरीपछि रक्तश्राव भएर ज्यान जोखिममा भएपछि स्वास्थ्यकर्मीले रगतदान गरेर बचेको थियो । चौरजहारीमा ब्लड बैंक नभएको र अन्य व्यक्ति पनि रक्तदान गर्न तयार नभएपछि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक शिव लामिछाने र कर्मचारी दिनेश विष्टले ए पोजिटिभ रगतदान गरेका थिए ।

यसअघि पनि जटिल र सुत्केरी समस्याका बेला रगतको अभाव हुने बिरामीलाई अस्पतालका कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले रगतदान गरेर बिरामीको ज्यान बचाउँदै आएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिए । चौरजहारीस्थित मेसिन अस्पतालमा अहिलेसम्म ५० भन्दा बढी स्वास्थ्यकर्मीले रगत दिएर धेरै सुत्केरी तथा अन्य मानिसको ज्यान बचेको अस्पतालका प्रशासक गिरीले जानकारी दिए ।

त्यस्तै नेपाली सेना र प्रहरीले समेत रगत अत्यधिक मात्रामा दिने गरेको उनले बताए । उनले भने, ‘ब्लड बैंक छैन, स्वास्थ्यकर्मी, प्रहरी र नेपाली सेनाकै भरमा बिरामीलाई रगत दिँदै आएका छौँ ।’ जाजरकोट, सल्यान र रुकुमपश्चिमका अधिकांश बिरामी तथा सुत्केरीको शल्यक्रियादेखि अन्य सेवा चौरजहारी अस्पतालले दिँदै आएको छ । त्यस्तै रुकुमपश्चिमको सदरमुकाम सल्लेस्थित स्वास्थ्य सेवा कार्यालयले पनि आधा दर्जन बढी सुत्केरीका लागि नेपाली सेना, प्रहरी र स्वास्थ्यकर्मीले रगत दिएर बचाएको डा महेश चौलागाईँले जानकारी दिए ।

त्यस्तै दुर्गम जिल्ला डोल्पामा समेत पछिल्लो समयमा शल्यक्रिया सेवा शुरु भएको छ । शल्यक्रिया शुरु भएसँगै रगतको अभाव हुँदा चिकित्सकले दिने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख सिजन रावलले जानकारी दिए । घरमै असुरक्षित सुत्केरी भएर सालनाल अड्किएपछि स्वास्थ्य सेवा कार्यालय डोल्पा दुनैमा ल्याइएकी ठूलीभेरी नगरपालिका–१ की २३ वर्षीया निरु रोकायलाई स्वास्थ्यकर्मी, शिक्षक तथा स्थानीयवासीले रगत दिएर ज्यान बचाएका छन् । सोमबार राति सुत्करी भएकी रोकायको साल अड्किएपछि मङ्गलबार दुनैस्थित स्वास्थ्य सेवा कार्यालयमा पु¥याएको थियो ।

अत्यधिक रक्तश्राव भइ अचेत अवस्थामा पुगेकी रोकायलाई ड्युटीमा खटिएका डा रमेश रोका, स्थानीय धनलक्ष्मी रोकाय, शिक्षक जयकृष्ण हमाल, ट्रेकिङ गाइड नोर्बु लामा र सुत्केरीका श्रीमान् भूपेन्द्र रोकायले रक्तदान गरी ज्यान बचाएको डा रावलले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयमा रोकायलाई पु¥याएको समयमा उहाँको शरीरमा हेमोग्लोविनको मात्र चार रहेको थियो । गर्भवती महिलामा हेमोग्लोविनको कमी भएमा गम्भीर समस्या देखापर्ने गर्दछ । हेमोग्लोविनको कमी हुँदा यसको असर शरीरमा हुने रगत र अक्सिजनमा पर्दछ ।

रगतमा अक्सिजन कम भएमा बिरामी बेहोस हुने, स्वास फेर्न गाह्रो हुने समस्या देखा पर्दछ । १८ वर्षभन्दा बढी उमेर भएको मानिसमा हेमोग्लोविनको मात्रा १३.६ देखि १७.७ हुनुपर्दछ । रोकायलाई स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा शङ्करप्रसाद राउत, कार्यालय प्रमुख डा सिजन रावल, डा मेलिना हमाल, डा. रमेश रोका, सुरेन्द्र शाह (एनेस्थेसिया एसिस्टेण्ट) लगायतको टिमले उपचार गरेका थिए ।

त्यस्तै गत मङ्सिर २१ मा ठूलीभेरी नगरपालिका–११ की तीला कार्कीलाई स्वास्थ्य सेवा कार्यालयमा शल्यक्रिया गर्दा रगत अभाव भएपछि नर्स दिलकुमारी बुढा, पुष्पा ओली रोकाय र ल्याब टेक्निसिएन प्रेमप्रकाश बुढाले रगत दिएर ज्यान बचाएका थिए । वर्षेनी यसरी ब्लड बैंक नभएको कर्णालीका अधिकांश जिल्लामा स्वास्थ्यकर्मी, सेना र प्रहरीले रक्तदान गरेर ज्यान बचाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement