काठमाण्डु – महिलालाई लक्षित गर्दै सरकारले सातवटै प्रदेशमा ‘ब्लू बस’ सञ्चालनको तयारी गरेको छ ।
सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी सुरु भएको हो ।
सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ‘ब्लू बस’ सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको हो । आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ‘ब्लू बस’ सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको छ ।
कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यसअन्तर्गत काठमाण्डु उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सातवटा बसलाई ‘ब्लू बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।
उपत्यकाबाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ ।
यातायात मन्त्रालयका अनुसार ‘ब्लू बस’ सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणीसहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
काठमाण्डु उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ । सेवा सञ्चालनका विभिन्न विकल्पसहित तयार पारिएको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ । आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको छ ।
‘ब्लू बस’ सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ ।




प्रतिक्रिया