काठमाण्डु-रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाएको आरोपमा ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कटहरिया नगरपालिका वडा नं ९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न स्थानीय गौरी साह कलवार लगायतका व्यक्तिहरूले ती महिलालाई बोक्सीको आरोप लगाउँदै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए।
घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्नमध्येका फुदेनी माझीका छोरा शंकर माझीलाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। पक्राउ परेका माझीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया