बलिउड अभिनेता नवाजुद्दीनकी बहिनी सायमाको निधन


एजेन्सी – बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । विगत आठ वर्षदेखि क्यान्सरग्रस्त २६ वर्षीया सायमाको शनिबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफ्नी बहिनीको निधनबारे नवाजुद्दीनकै परिवारले जानकारी दिएको एनडिटिभीले लेखेको छ । सायमा १८ वर्षको उमेरदेखि नै स्तन क्यान्सरबाट पीडित थिइन् । वर्षौंसम्म रोगसँग लड्दै आएकी उनको गत शनिबार निधन भएको हो ।

एनडिटिभीका अनुसार सायमाको निधन भएका बेला नवाजुद्दीन अमेरिकामा सुटिङ गरिरहेका थिए । सायमाको अन्तिम संस्कार आइतबार उत्तर प्रदेशको बुढानामा गरियो ।

नवाजुद्दीनले गत वर्ष अक्टोबरमा आफ्नी बहिनी सायमाको २५ औं जन्मदिनको बधाइ दिँदै ट्विट गरेका थिए । त्यही बेला सायमाको रोगबारे पनि जानकारी दिएका थिए ।

उनले लेखेका थिए, ‘मेरी बहिनीलाई १८ वर्षदेखिनै एडभान्स स्टेजको स्तन क्यान्सर भएको थियो । तर उसको ऊर्जा र उत्साहका कारण आज पनि उनी खडा छिन् । बहिनी २५ वर्षकी भइन्, र अहिले पनि संघर्ष गरिरहेकी छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement