राजधानीमा बम आतंक : चारको मृत्यु, आठ घाइते


काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आइतबार साँझ राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट गराएको छ। काठमाडौंको सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ। विस्फोटमा परी आठजना घाइते भएका छन्।

सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो। दुबै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीको प्रारम्कि अनुसन्धानले देखाएको छ। बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सुकेधारा विस्फोटका घाइते नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउँदा विस्फोट भएको प्रहरीसमक्ष वयान दिएका छन्। सुकेधारा घटनास्थलमै एक र दुई जनाको ओम अस्पतालमा मृत्यु भएको हो। शव क्षतविक्षत भएकाले मृतकको सनाखत हुन सकेको छैन।

सुकेधारामा बम बनाउन सुरेन्द्रसहित ६ जनाको समूह सक्रिय थियो। विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन्। शैलुन सञ्चालक मोहत्तरीका ५९ वर्षीय ठाकुर र नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र र कपन बस्ने विष्णु खड्का घाइते भएका छन्।

सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ। विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते छन्। खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement