थबाङमा दुई बोरा सकेट बम भेटियो, सेनालाई पठाउने निर्णय


रोल्पा – रोल्पाको थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका हुन् । बम फेला पारेपछि घाँसीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षित पारेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बम भएको क्षेत्रलाई प्रहरी नियन्त्रणमा लिइएको बताए ।प्रनाउ गुरुङका अनुसार बम राखिएको बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । हाल बम राखिएको क्षेत्रको सुरक्षार्थ रानागाउँस्थित प्रहरी हवल्दार डम्बरबहादुर चलाउनेको नेतृत्वले गरिरहेको छ ।

बम निष्किय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बिहीबार घटना स्थल पठाउने सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ । शान्ति प्रक्रियापछि जिल्लाका विभिन्न स्थानमा बम, बारुद र हतियार भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement