नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुरामा भर्ना अभियानलाई तीव्र पारिएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना अभियानलाई तीव्र बनाएका हुन् ।

बाजुराका सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण कार्य समेत थालनी गरेका हुन् । अधिकांश विद्यालयहरूले सोही दिन विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक हस्तान्तरण गर्ने गरेका छन् । यसअघिका वर्षहरूमा नयाँ भर्ना अभियान वैशाख २ गतेदेखि नै सुरु हुँदै आएको थियो ।

तर वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले वार्षिक परीक्षा नसकिँदै विद्यालयले भर्ना लिने क्रम रोक्न भन्दै वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना अभियान सुरु गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आत्मसाथ गर्दै बाजुराका विद्यालयहरूले समेत भर्ना अभियान सञ्चालन गरेका छन् ।

भर्नासँगै विद्यार्थीहरूले हातहातमा पाठ्यपुस्तक पाउँदा उनीहरूको सिकाइ क्षमतामा अभिवृद्धि हुने मालिका नमूना माविका प्राचार्य शुभराज पाध्यायले बताए । उनले समयमै प्राप्त पाठ्यपुस्तकले विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत सकारात्मक सुधारले ल्याउने बताएका छन् ।

विद्यार्थीहरूको नियमित उपस्थिति, उनीहरूको पढाइप्रतिको मोह र सिकाइ प्रक्रिया प्रभावकारी बनाउन सहयोग पुग्ने कुरामा जोड दिए । उनले विद्यार्थीहरूलाई नियमित उपस्थिति र गुणस्तरीय शिक्षामा ध्यान दिन समेत आग्रह गरेका छन् ।

भर्नासँगै हातमा पाठ्यपुस्तक पाउँदा खुसी लागेको मालिका नमूना मावि १० कक्षामा अध्ययनरत विद्यार्थी सुशील थापाले बताए । उनले अघिल्ला वर्षहरूमा समयमै पाठ्यपुस्तक नपाउँदा समस्या हुने गरेको गुनासो गर्दै यस वर्ष भर्नासँगै हातमा पाठ्यपुस्तक पाउँदा यसले अध्ययनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

अर्का विद्यार्थी आयुस तिमिल्सिनाले समयमै किताब पाउँदा पढाइलाई निरन्तरताका दिनुका साथै सिकाइ निरन्तर र पढ्न प्रेरणा मिल्ने बताए । पहिलेका वर्षहरूमा भर्ना अभियान प्रक्रिया सकिएपछि पनि लामो समयसम्म पाठ्यपुस्तक नपाउँदा यहाँका विद्यार्थीहरू पढाइबाट प्रभावित हुने गरेको थिए ।

सरकारले बाजुरासहित हिमाली तथा पहाडी जिल्लालाई विशेष प्राथमिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य राखेसँगै सोही अनुरूप बाजुरासहित अन्य जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेका हुन् । जिल्लामा २३७ ओटा सामुदायिक विद्यालयहरू सञ्चालनमा छन् भने केही निजी विद्यालयहरू समेत छन् ।

भर्नासँगै पाठ्यपुस्तक हस्तान्तरणले विद्यार्थीको अध्ययनमा सहज हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । कार्यालयका अनुसार विद्यालयहरूले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण गर्न थालेको जनाएको छ । यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा समेत लगिएको छ । बाजुराका ग्रामीण भेगमा विद्यालयहरूले घरदैलो अभियान, अभिभावक भेटघाट र प्रचारप्रसारमार्फत विद्यार्थी भर्ना गरिरहेका छन् ।