नयाँ डाइभर्सन बनेपछि बीपी राजमार्ग सुचारु, तुइन खोलामा चल्न थाले दुईतर्फी गाडी

नयाँ डाइभर्सन बनेपछि बीपी राजमार्ग सुचारु, तुइन खोलामा चल्न थाले दुईतर्फी गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विगत केही दिनदेखि अवरुद्ध बीपी राजमार्ग सुचारु भएको छ ।

बाढीले बगाएको ठाउँमा फेरि नयाँ डाइभर्सन तयार गरेपछि बीपी राजमार्ग सुचारु भएको हो।
काभ्रेस्थित रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरेपछि हाललाई बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यस्तै प्रहरीले सुरक्षा सम्बन्धमा प्रहरीको सुझाव तथा निर्देशनलाई अनिवार्य पालना गर्न र बाटोको अवस्थाको बारेमा थप जानकारी लिन १०० र १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

वर्षापछि रोसी खोलामा आएको बाढीले गत सातादेखि नै बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ । बाढीले काभ्रेको चारसयबेसी, घुमाउने, दाउन्ने, नार्केललगायत स्थानका डाइभर्सन बगाएको छ ।

२०८१ साल असोज १२ गते आएको बाढीले काभ्रेको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक क्षति भएको छ । क्षतिग्रस्त खण्डमध्ये काभ्रेतर्फ चार र सिन्धुलीतर्फ एउटा ठेक्कामार्फत पुनर्निर्माण कार्य भइरहेको छ।

सानो वर्षा हुँदा नै बीपी राजमार्ग अवरुद्ध हुने समस्याले विगत लामो समयदेखि यात्रुले सास्ती पाउँदै आएका छन्।

तुइन खोला पनि सुचारु

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ढुंगा खस्न रोखिएपछि दुई तर्फी नै गाडी चल्न थालेका छन्।

तुईन खोला नजिकै माथिबाट ढुंगाहरू झर्दा केही दिनदेखि सवारी साधन एकतर्फी मात्रै संचालन गरिएको थियो। सडक डिभिजन भरतपुरले बिहीबार बिहानदेखि तुइनखोलमा दुईतर्फी नै सवारी सञ्चालन सुरु भएको जनाएको छ । तुइनखोला पुल नजिकै ढुंगाहरू खस्दा गएको बर्खामा पनि यो सडक पटकपटक अवरुद्ध भएको थियो।