आज वीपी स्मृति दिवस मनाइँदै

आज वीपी स्मृति दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृति दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोईरालाको २०३९ साउन ६ गते निधन भएको थियो। कोइरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरेका छन्।

२०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन र जमीन जोत्नेको भन्ने क्रान्तिकारी भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए।

राजनीतिसँगै नेपाली साहित्यमा पनि कोइरालाको विशिष्ट स्थान रहेको छ। उनका दोषी चश्मा, तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन र हिटलर र यहुदी जस्ता चर्चित कृतिहरू प्रकाशित छन्। नेपाली साहित्यमा उनलाई मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिन्छ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गरेका कोइरालाको स्मृतिमा वीपी स्मृति दिवस मनाइन्छ। उनको मेलमिलापको नीति र वैचारिक दृष्टिकोण आजको राजनीतिमा पनि उत्तिकै सान्दर्भिक मानिन्छ।