नाकबाट मस्तिष्कमा पुग्ने घातक अमिबा : बेवास्ता गर्दा ज्यानै जान सक्छ

नाकबाट मस्तिष्कमा पुग्ने घातक अमिबा : बेवास्ता गर्दा ज्यानै जान सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्टिभ स्मेल्स्की आफ्नो परिवारसँग खुसीयाली मनाउन कोस्टारिकामा बिदा बिताउन गएका थिए । तर छुट्टी मनाउन गएको केही दिनमै उनले आफूलाई आफ्ना छोराको आईसीयू शैयाको छेउमा बसेको अवस्थामा पाए ।

उनी आफ्ना एकमात्र सन्तानको मृत्युको शोकमा डुबेका थिए । स्मेल्स्कीका ११ वर्षीय छोरा जोर्डनको मृत्यु ‘ब्रेन–इटिङ’ (मस्तिष्क खाने) अमिबा भनेर चिनिने नेग्लेरिया फाउलेरी को संक्रमणका कारण भएको थियो ।

यो अमिबा प्रायः तातोपानीका ताल, मुहान (हट स्प्रिङ) तथा लामो समयदेखि प्रयोग नभएका स्विमिङ पुलमा पाइन्छ । मानिस पानीमा जाँदा यो नाकबाट शरीरभित्र प्रवेश गर्छ र तीव्र रूपमा मस्तिष्कका तन्तुमाथि आक्रमण गर्न थाल्छ ।जोर्डनले एक दिनअघि मात्रै त्यस्तै पानीमा पौडी खेलेका थिए ।

गत वर्ष भारतमा नेग्लेरिया फाउलेरी संक्रमणका २०० भन्दा बढी घटना पुष्टि भएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वव्यापी प्रकोप मानिएको छ ।

हालका महिनाहरूमा पनि भारतमा नयाँ संक्रमित भेटिने क्रम जारी छ । यसअघि विश्वभर जम्मा ५०० भन्दा कम संक्रमणका घटना मात्र अभिलेख गरिएका थिए ।

यो प्रकोपले अनुसन्धानकर्ताको चिन्ता बढाएको छ, किनभने अहिले यो जीव पहिले विरलै देखिने स्थानहरूमा समेत फेला पर्न थालेको छ ।

भविष्यमा अझ धेरै घटना देखिन सक्ने चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन् ।

बेलायतको केन्ट विश्वविद्यालयका आणविक परजीवीविद् डा. अनास्तासियोस त्साउसिस भन्छन्, ‘मलाई लाग्छ, भविष्यमा अझ धेरै संक्रमणका घटना देखिनेछन् । हामी यसलाई विश्वभर देख्नेछौं ।’

अमेरिकाको फ्लोरिडाका बासिन्दा स्टिभ कोस्टारिकामा होटल नजिकैको प्राकृतिक तातोपानीमा आफ्ना छोरासँग घण्टौँसम्म वाटर स्लाइडको मजा लिइरहेका थिए । त्यही क्रममा जोर्डनलाई टाउको दुख्न सुरु भयो ।घर फर्किएपछि उनको टाउको दुखाइ झन् बढ्यो र बान्ता हुन थाल्यो । आमाबुवाले उनलाई नजिकैको अस्पताल पुर्‍याए । अस्पतालमा जोर्डनलाई भ्रम हुन थाल्यो । उनले छतमा किराहरू चल्दै गरेको बताए।

डाक्टरहरूले रोग पत्ता लगाउने प्रयास गरिरहेकै बेला उनको अवस्था गम्भीर भएपनि आईसीयूमा सारियो। त्यसपछि उनको मृत्यु भयो ।

किन हुन्छ यस्तो?

जोर्डनको मृत्यु प्राइमरी अमिबिक मेनिङ्गोएन्सेफलाइटिसका कारण भएको थियो । यो नेग्लेरिया फाउलेरीबाट हुने दुर्लभ तर अत्यन्त घातक मस्तिष्क संक्रमण हो ।

धेरैजसो बिरामीमा सुरुमा यसलाई मेनिन्जाइटिस (मस्तिष्क ज्वरो) ठानिन्छ, किनभने प्रारम्भिक लक्षणहरू दुवै रोगमा उस्तै हुन्छन् ।

डाक्टरहरूले वास्तविक कारण पत्ता लगाउँदासम्म धेरै ढिला भइसकेको थियो । संक्रमणले मस्तिष्कमा गम्भीर सुन्निने अवस्था सिर्जना गरिसकेको थियो । यो अमिबाले मानिसको मस्तिष्क, विचार र पहिचान नै खोसिदिने गरेको डाक्टरहरूको भनाइ छ ।
सन् २०२५ मा जर्नल अफ इन्फेक्सन एन्ड पब्लिक हेल्थमा प्रकाशित समीक्षाअनुसार सन् १९६२ देखि २०२३ सम्म विश्वभर ४८८ वटा संक्रमणका घटना अभिलेख भएका थिए ।

धेरैजसो घटना अमेरिकाका दक्षिणी राज्य, पाकिस्तान र अस्ट्रेलियामा देखिएका थिए । तीमध्ये करिब ९७ प्रतिशत बिरामीको मृत्यु भएको थियो ।

तर पछिल्ला २० वर्षमा उत्तरी गोलार्धका देशहरू जस्तै इटाली र बेल्जियममा पनि संक्रमण बढ्न थालेको छ । अमेरिकाका चिसा उत्तरी राज्य (जस्तै मिनेसोटा) मा समेत पछिल्ला १५ वर्षमा नयाँ संक्रमण देखिएका छन् । गत वर्ष स्लोभाकियामा पहिलो पुष्टि भएको संक्रमण भेटिएको थियो ।

सन् २०२३ मा ताइवानमा एक व्यक्तिको इनडोर सर्फिङ केन्द्रमा संक्रमण भएर मृत्यु भयो । त्यही वर्ष अमेरिकामा दूषित स्प्ल्यास प्याडबाट संक्रमित भएर एक बालकको मृत्यु भएको थियो ।

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनका कारण ताल र पोखरीको पानी तात्दै जाँदा यो अमिबा पहिले धेरै चिसो भएकाले बाँच्न नसक्ने क्षेत्रमा समेत फैलिन थालेको छ । डा. त्साउसिस भन्छन्, ‘पानी तातो हुँदा अमिबा अझ सक्रिय हुन्छ । त्यसले पौडी खेल्ने मानिसमा संक्रमणको जोखिम पनि बढाउँछ ।’

यद्यपि उनी आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार अहिले वैज्ञानिकहरू पनि यो अमिबा पहिचान गर्न पहिलेभन्दा धेरै सक्षम भएका छन्, त्यसैले धेरै घटना पत्ता लागिरहेका हुन सक्छन् ।

बालबालिकामा किन बढी जोखिम ?

विशेषज्ञहरूका अनुसार वयस्कको तुलनामा बालबालिकामा संक्रमणको जोखिम बढी हुन्छ । वेस्टर्न सिड्नी विश्वविद्यालयका जलविज्ञान विशेषज्ञ प्रा. इयान राइट भन्छन्, ‘यो रोग लाग्ने मानिसहरूको औसत उमेर १२ वर्ष हुन्छ, किनभने बालबालिकालाई तातो पानीमा खेल्न मनपर्छ ।’

केही वैज्ञानिकको विश्वास छ कि बालबालिकामा नाक र मस्तिष्कबीचको सुरक्षा अवरोध कमजोर हुने भएकाले अमिबालाई मस्तिष्कसम्म पुग्न सजिलो हुन सक्छ ।

राइट भन्छन्, ‘यो कुनै डरलाग्दो सपना, हरर फिल्म वा स्टिफन किङको उपन्यासजस्तै हो । यसको सम्भावना अत्यन्त कम हुन्छ, तर एकपटक भयो भने प्रायः मृत्यु नै हुन्छ ।’

उपचार सम्भव छ ?

यदि रोग प्रारम्भिक चरणमै पत्ता लाग्यो भने चिकित्सकहरूले विभिन्न औषधिको संयोजन प्रयोग गरेर उपचार गर्ने प्रयास गर्छन् । साथै मस्तिष्कको सुन्निने अवस्था कम गर्ने उपाय पनि अपनाइन्छ । यद्यपि विगतमा बाँच्ने सम्भावना निकै न्यून थियो । तर भारतको केरलामा हालै देखिएको प्रकोपले यो धारणा परिवर्तन गर्न थालेको छ ।

कम्युनिकेशन्स मेडिसिनमा प्रकाशित अध्ययनअनुसार त्यस्ता २०० बिरामीमध्ये आधाभन्दा बढी बाँच्न सफल भएका थिए । यो विगतको करिब ३ प्रतिशत बाँच्ने दरभन्दा धेरै उच्च हो ।

अनुसन्धानकर्ताहरूका अनुसार यसको मुख्य कारणहरू हुन्–

  • रोगको छिटो पहिचान
  • स्वास्थ्यकर्मीमा बढेको सचेतना
  • उपचारका प्रभावकारी तथा एकरूप विधि

कसरी बच्ने?

पौडी खेल्दा मात्र होइन, नेजल इरिगेसन (नाक सफा गर्ने) प्रणाली प्रयोग गर्दा पनि नेग्लेरिया फाउलेरी शरीरमा प्रवेश गर्न सक्छ ।

नेजल इरिगेसन लामो टुँडो भएको बोतल हो, जसको प्रयोग रुघाखोकी, साइनस संक्रमण वा एलर्जीका लक्षण कम गर्न गरिन्छ ।

गत वर्ष अमेरिकाको टेक्सासमा ७१ वर्षीया एक स्वस्थ महिलाको यस्तै उपकरण प्रयोग गरेपछि मृत्यु भएको थियो । उनले मोटरहोमको धाराको पानी प्रयोग गरेकी थिइन् । इस्लामका केही धार्मिक परम्परा तथा आयुर्वेदजस्ता अभ्यासमा पनि नाक सफा गर्ने प्रक्रिया समावेश हुन्छ ।

जोखिम कम गर्ने उपाय

  • डाक्टरहरूले नाक सफा गर्न निम्न विधि अपनाउन सुझाव दिन्छन् :
  • स्टेरिलाइज गरिएको पानी
  • डिस्टिल्ड (आसुत) पानी
  • उमालेर चिस्याइएको पानी
  • तातो पानीमा पौडी खेल्दा वा डुबुल्की मार्दा नाक थुन्ने
  • नोज क्लिप प्रयोग गर्ने