वीरमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

वीरमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क


काठमाण्डु–वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु भएको छ ।

अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसरमा अस्पतालले ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए ।

आइतबारदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एक देखि तीन लाख रुपैयाँसम्म पर्छ ।

शरीरका कोशिकाहरू असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने गर्छ । ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,’ डा. झाले भने ।

अस्पतालमा दैनिक ६ देखि आठ जना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सय जना बिरामी अस्पताल आउने गरेका छन् ।

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।