दिल्लीमा ब्रिक्स सम्मेलन सुरु, सी र पुटिनमाथि विश्वको नजर

दिल्लीमा ब्रिक्स सम्मेलन सुरु, सी र पुटिनमाथि विश्वको नजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी शेराटन, यूएईका क्राउन प्रिन्स खालिद बिन मोहम्मद अल नाह्यान, ब्राजिलका विदेशमन्त्री माउरो भिएरा लगायत विश्वका शक्तिशाली नेताहरू सहभागी छन् ।

सम्मेलनलाई लक्षित गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै करिब ५०० वटा सीसीटीभी क्यामेरा जडान गरिएको जनाएको छ । यस्तै दिल्ली प्रहरीले सम्मेलनस्थल वरपर बहुस्तरीय सुरक्षा व्यवस्था गरेको छ ।

यसअघि पनि भारतले सन् २०१२, २०१६ र २०२१ मा ब्रिक्सको अध्यक्षता गर्दै शिखर सम्मेलन आयोजना गरिसकेको छ । यसै वर्षको मे महिनामा भारतले ब्रिक्स सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठकसमेत आयोजना गरेको थियो ।

यसपटकको शिखर सम्मेलन मध्यपूर्वमा पुनः तनाव बढिरहेका बेला तथा विश्वव्यापी तेल बजार अस्थिरताको अवस्थामा हुँदैछ ।

ब्रिक्स के हो?

‘ब्रिक्स’ अंग्रेजीका अक्षर बी, आर, आई। सी र एसबाट बनेको नाम हो । सुरुमा प्रत्येक अक्षरले एउटा देशलाई प्रतिनिधित्व गर्छ–ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका ।

हाल ब्रिक्समा विश्वका तीव्र गतिमा बढिरहेका प्रमुख अर्थतन्त्र तथा विकासशील मुलुकमध्ये ११ देश सदस्य छन् । ती हुन्–रूस, चीन, भारत, ब्राजिल, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) ।

ब्रिक्स–२०२६ को वेबसाइटका अनुसार इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र यूएई जनवरी २०२४ देखि ब्रिक्सका पूर्ण सदस्य बनेका हुन् भने इन्डोनेसिया जनवरी २०२५ मा पूर्ण सदस्य बनेको हो ।

बेलारुस, बोलिभिया, काजाखस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम सन् २०२५ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको ब्रिक्स शिखर सम्मेलनमा समूहका साझेदार देश बनेका थिए ।

केही विज्ञका अनुसार सन् २०५० सम्ममा यी देशहरू उत्पादनमूलक उद्योग, सेवा तथा कच्चा पदार्थका प्रमुख आपूर्तिकर्ता बन्न सक्नेछन् ।

उनीहरूको भनाइमा चीन र भारत उत्पादनमूलक उद्योग तथा सेवाका क्षेत्रमा विश्वकै प्रमुख आपूर्तिकर्ता बन्नेछन् भने रूस र ब्राजिल कच्चा पदार्थका सबैभन्दा ठूला आपूर्तिकर्ता बन्न सक्छन् ।

ब्रिक देशहरूको पहिलो औपचारिक शिखरस्तरीय बैठक १६ जुन २००९ मा रूसको येकातेरिनबर्गमा भएको थियो ।

त्यसपछि सन् २०१० मा ब्रिकको शिखर सम्मेलन ब्राजिलको राजधानी ब्रासिलियामा आयोजना भयो । यही वर्ष दक्षिण अफ्रिका समूहमा जोडिएपछि ‘ब्रिक’ ‘ब्रिक्स’ बन्यो ।

ब्रिक्सको गठन उत्तर अमेरिका र पश्चिमी युरोपका धनी राष्ट्रहरूको राजनीतिक तथा आर्थिक शक्तिलाई चुनौती दिन विश्वका महत्वपूर्ण विकासशील देशहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले भएको थियो ।

पछिल्ला वर्षहरूमा धेरै देशले ब्रिक्समा सहभागी हुन इच्छा देखाएका छन् । हालसम्म करिब ३० अन्य देशले समूहमा सहभागी हुन आफ्नो रुचि व्यक्त गरिसकेका छन् ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्सप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

सन् २०२५ मा भएको ब्रिक्स शिखर सम्मेलनपछि ट्रम्पले प्रत्यक्ष चेतावनी दिँदै भनेका थिए, ‘अमेरिकाविरोधी नीतिलाई समर्थन गर्ने देशमाथि अमेरिकाले पहिले नै लगाइएका करका अतिरिक्त थप १० प्रतिशत कर लगाउनेछ ।’

ब्रिक्सको मुख्यालय चीनको सांघाईमा रहेको छ । ब्रिक्सका सम्मेलन हरेक वर्ष आयोजना हुन्छन् र त्यसमा सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष सहभागी हुन्छन् ।

ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता प्रत्येक वर्ष पालैपालो सदस्य राष्ट्रका राष्ट्रप्रमुखले गर्छन् । यस वर्षको बैठकको आयोजना भारतले गर्दैछ ।

ब्रिक्स सदस्य राष्ट्रहरूको जनसंख्या विश्वको कुल जनसंख्याको करिब ४९.५ प्रतिशत छ । विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उनीहरूको हिस्सा करिब ४० प्रतिशत र विश्व व्यापारमा करिब २६ प्रतिशत रहेको छ ।

ब्रिक्स सदस्य राष्ट्रहरू आर्थिक मुद्दामा मिलेर काम गर्न चाहन्छन ्। तर सदस्य राष्ट्रहरूमध्ये केहीबीच गम्भीर राजनीतिक विवाद पनि छन् । तीमध्ये भारत र चीनबीचको सीमा विवाद सबैभन्दा महत्वपूर्ण मानिन्छ ।