सडकपेटीमा शिशु जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड देखायो: तोसिमा

सडकपेटीमा शिशु जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड देखायो: तोसिमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले सप्तरीकी बबिता पासवानले सडकपेटीमै शिशु जन्माउनुपरेको घटनाले नेपालको स्वास्थ्य प्रणालीको वास्तविक अवस्था उजागर गरेको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले पैसा नभएको भन्दै फर्काएपछि बबिता पासवानले अस्पताल नजिकै सडकपेटीमा शिशु जन्माएको घटनालाई लिएर स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाइन् ।

‘गजेन्द्रनारायण सिंह अस्पताल संघीय अस्पतालको नजिकै एउटी महिलाले सडकमै शिशु जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड हामीसामु ल्याइदिएको छ,’ कार्कीले भनिन् ।

उनले संविधानले स्वास्थ्यको हक तथा सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक सुनिश्चित गरे पनि कागजमा लेखिएको अधिकार र नागरिकले व्यवहारमा पाउने सेवाबीच ठूलो अन्तर रहेको बताइन् ।

‘संविधानमा स्वास्थ्यको हक लेखियो । सुरक्षित मातृत्व र प्रजननको हक लेख्यौँ । तर कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले व्यवहारिक रूपमा पाउने वास्तविक सेवामा यति ठूलो दूरी किन छ ?’ उनले प्रश्न गरिन् ।

प्रसव पीडामा अस्पताल पुगेकी महिलालाई तत्काल भर्ना गरी निरन्तर निगरानीमा राख्नुपर्नेमा अस्पतालले आफ्नो जिम्मेवारी पूरा गरे–नगरेको विषयमा उनले प्रश्न उठाइन् ।

‘प्रसव पीडामा भएकी महिलालाई तत्कालै भर्ना गरेर तपाईं कतै नजानुस्, तपाईंलाई हामी निरन्तर हेर्छौं, केही गाह्रो भयो भने तत्कालै हामीलाई खबर गर्नुस् है भन्नुपर्ने थियो । त्यो भनियो कि भनिएन ?’ उनले प्रश्न गरिन् ।

अस्पतालबाट बिरामी बाहिरिएपछि उनको खोजी र सम्पर्कका लागि अस्पताल प्रशासनले पहल गर्नुपर्ने कार्कीको भनाइ छ ।

‘अस्पतालले हामीलाई जानकारी नै छैन, कुन बेला त्यो बिरामी निस्केर गइन् भन्न पाउँछ ? प्रसवमा अस्पताल पुगेकी बिरामीलाई सुरक्षित तरिकाले भर्ना गर्ने, ट्रान्सपोर्ट गर्ने जिम्मेवारी कसको हो ? बिरामी बेडमा नभएपछि उनलाई खोजी किन गरिएन ?’ उनले प्रश्न गरिन् ।

अस्पतालमा बिरामीको विवरण भर्दा फोन नम्बरसमेत राखिने भएकाले सम्पर्क गरेर अवस्थाबारे जानकारी लिन सकिने उनले बताइन् ।

‘अस्पतालमा फाराम भर्दा फोन नम्बर राखिएको हुन्छ । सम्पर्क किन गरिएन ?’, उनले प्रश्न गरिन् ।

कार्कीले प्रसूति गराउन अस्पताल पुगेकी महिलालाई आर्थिक अवस्था सोधेर उपचारबाट वञ्चित गर्न नहुने बताइन् ।

‘प्रसूति गराउन आएकी महिलालाई पैसा छ या छैन भनेर नसोधी उपचार सुरु गरियोस्,’ उनले भनिन् ।

बबिता पासवानले बिहीबार सडकपेटीमै शिशु जन्माउनुपरेको घटनाबारे छानबिन गरी जिम्मेवार पक्षमाथि आवश्यक कारबाही हुनुपर्ने मागसमेत कार्कीले गरेकी छन् ।