पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, रिहा गर्न प्रहरीलाई निर्देशन

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, रिहा गर्न प्रहरीलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ।

प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र धरपड रोक्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशन भन्दै विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेको हो।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नेपाल प्रहरीको साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पत्रकारलाई आधा घण्टाभित्र रिहा गर्ने तयारी गरेको छ। त्यस्तै, पत्रकारलाई नियन्त्रणमा लिन सञ्चारगृह पुगेका प्रहरी टोली पनि फर्किने भएका छन्।

शुक्रबार प्रहरीले नेपाल प्रेसका संवाददाता विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै पक्राउ गरेको थियो। सादा पोशाकमा आएका प्रहरीले पक्राउ पुर्जी नदेखाई उनलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेलले बताएका थिए।

प्रहरीले सुवेदीलाई साइबर ब्युरोको पत्रका आधारमा पक्राउ गरिएको जनाएको थियो। दुई दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित भएको थियो।

उक्त समाचारको स्रोत पत्ता लगाउन सुवेदीलाई पक्राउ गरिएको हुन सक्ने प्रहरी स्रोतको दाबी थियो।

यसैबीच प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको थियो।

उनलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो। पक्राउको कारण भने प्रहरीले सार्वजनिक गरेको थिएन।

नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई लैजान पाँच जना सादा पोशाकका प्रहरी पुतलीसडकस्थित कार्यालय पुगेका थिए।

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरीले पक्राउ पुर्जी नदेखाई मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन खोजेको थियो।

दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई पनि फोन गर्दै उनीविरुद्ध उजुरी परेको भन्दै सोधपुछ गरिएको थियो।

उजुरी कसले र के विषयमा दिएको हो भन्ने प्रश्नमा फोनकर्ताले विवरण खुलाउन नमिल्ने बताएका थिए। नेपाल प्रेसका अध्यक्ष बिन्दुराज लम्साललाई पनि साइबर ब्युरोले कार्यालयमा उपस्थित हुन फोन गरेको थियो।

पत्रकारमाथिको धरपकडअघि नै प्रहरी महानिरीक्षकको सचिवालयले कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार र टिप्पणीप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अपुष्ट तथा भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको थियो।

संगठनको छवि कमजोर पार्ने उद्देश्यले भ्रामक सूचना फैलाउनेमाथि कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो।

तर त्यसको भोलिपल्टै समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने र अन्य सञ्चारगृहमा प्रहरी पठाउने घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै पत्रकारिता क्षेत्रबाट व्यापक विरोध भइरहेको छ।

जेनजी अगुवा रवि किरण हमाल, रक्षा वमलगायतले पनि पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको टिप्पणी गरेका छन्।