बुद्धको शिक्षा बालुवाटारको भीड र गाइजात्रालाई आवश्यक : अध्यक्ष राणा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बुद्धको शिक्षाअनुरूप आसक्ति र अविद्यालाई जितेर महाव्याधीको बेला मानव समाजलाई दुःखबाट उन्मुक्ति दिनु पर्ने बताएका छन् ।

दुःख सत्य हो र बुद्धले देखाएको बाटो पहिल्याएर दुःखलाई परास्त गर्नु पर्ने राणाले बताए । बुद्धको शिक्षा बालुवाटारको भीड र गाइजात्रालाई झन् आवश्यक रहेको भन्दै सरकार र सत्तासीन पार्टी नेतृत्वलाई मन, आचरण र मार्गचित्र परिवर्तन गर्न उनले सुझाव दिए ।

बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिँदै राप्रपा अध्यक्ष राणाले भने, ‘बुद्धले भनेझैं दुःखको जड आसक्ति र अविद्या हो । दुःख मुक्तिको उपाय चुनेर बुद्ध बन्ने कि पिडामा फसेर अज्ञानी रहने, निर्णय हाम्रो हो । बुद्ध पूर्णिमामा बुद्धको शिक्षा यसैले मननीय छ । बालुवाटारको भीड र गाइजात्राका हकमा अपरिहार्य छ । यही कामनासाथ बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना ।’

कोरोना प्रकोपबाट मानव जातिमाथि चुनौति आइपरेको भन्दै राणाले बुद्धका चार आर्यसत्यमा उल्लेख शिक्षालाई मनन् गर्नु पर्नेमा जोड दिए । ‘कोभिड–१९ बाट मानव समाज उथुलपुथल भएको छ । दुःख आफैंमा नकारात्मक अवसान होइन,’ उनले ट्वीट गर्दै भने । ‘बुद्धका चार आर्यसत्यमा उल्लेख भएझैं, दुःख छ, दुःखको कारण हुन्छ, दुःखको अन्त्य छ र दुःख अन्त्य गर्ने मार्ग छ भन्ने बोध हाम्रो शिक्षाको सत्य बन्न जरूरी छ । ताकि मनलाई, दुःखलाई जित्न सक्ने सदबुद्धि मिलोस् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement