काठमाण्डु- २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा बुधबारदेखि सेमिफाइनल खेल शुरू हुँदैछन् ।
पहिलो सेमिफाइनलमा बुधबार भुटानको आरटीसी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । आरटीसीले राष्ट्रिय जागृति क्लब इटहरीलाई र चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई हराएर सेमिफाइनलमा पुगेका हुन् ।
यस्तै बिहीबार दोस्रो सेमिफाइनलमा काठमाण्डौको न्यूरोड टिम एनआरटी र भारतको यूके एफसीबीच खेल हुनेछ ।
यसअघि मंगलबार भएको खेलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर केएफटीसीलाई हराउँदै एनआरटी सेमिफाइनलमा पुगेको हो । यस्तै यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
प्रतियोगिताको फाइनल खेल शनिवार माघ २६ गते हुनेछ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया