काठमाण्डु – सरकारले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बिहीबार पेश गर्दैछ ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्नेछन् ।
संविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्छ । सोही व्यवस्थाअनुसार पौडेलले संघीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्दै छन् । अर्थमन्त्री पौडेलले वैकल्पिक वित्त स्रोत परिचालनलाई देखाएर ठुलो आकारको वितरणमुखी बजेट ल्याउने तयारी गरेका छन् ।
अपराह्न ३ बजे बस्ने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।
त्यसअघि प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले आव २०८२/०८३ को आर्थिक सर्वेक्षण सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो । १३ जेठसम्ममा १२ खर्ब २१ अर्ब ४० करोड खर्च गरेको छ ।
सरकारले चालू आवमा १६ खर्ब ९२ अर्ब खर्च गर्ने संशोधित अनुमान गरेको छ । स्रोत समितिले दिएको १९ खर्ब ६५ अर्बको सुरुवाती सिलिङ नै चालू आवको संशोधित अनुमानको तुलनामा साढे १२ प्रतिशतले बढी हो । यद्यपि, उक्त सिलिङलाई समेत संशोधन गरेर ठुलो आकारको बजेट ल्याउने तयारी गरिएको छ ।
प्रतिक्रिया