अर्थमन्त्रीमाथि सुदूरपश्चिमका भौतिकमन्त्रीको कटाक्ष : ‘बजेटको सिंहासन अस्थायी हो, जनताको अदालत स्थायी’

अर्थमन्त्रीमाथि सुदूरपश्चिमका भौतिकमन्त्रीको कटाक्ष : ‘बजेटको सिंहासन अस्थायी हो, जनताको अदालत स्थायी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण र बाँडफाँटलाई लिएर विवाद भएको छ। यही विवादबीच भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लमाथि कटाक्ष गरेका छन्।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेका बेला मन्त्री भाटले सामाजिक सञ्जालमार्फत ‘राजा र रंक’ शीर्षकमा व्यंग्यात्मक कविता सार्वजनिक गर्दै अर्थ मन्त्रालयको बजेटमाथिको अधिकार र योजनाबारेमा असन्तुष्टि व्यक्त गरेका हुन्।

अर्थ मन्त्रालयसँग बजेटको चाबी र स्रोतको अधिकार रहेको भन्दै उनले अन्य मन्त्रालयका मन्त्रीहरू योजना बोकेर बजेट माग्न अर्थ मन्त्रालयको ढोकामा लाइन बस्नुपर्ने अवस्था रहेको व्यंग्य गरेका छन्।

‘एउटा मन्त्रालयमा राजा जन्मिएछ, अर्थको मुकुट शिरमा सजिएछ। बाँकी मन्त्रीहरू रंक ठानिएछन्, बजेटका लागि ढोकामा लाइन बसेछन्,’ उनले कवितामार्फत भनेका छन्।

भौतिक पूर्वाधारमन्त्री भाटले सडक, पुल तथा खानेपानीलगायतका योजना लिएर आउने अन्य मन्त्रालयका मन्त्रीहरू बजेटका लागि अर्थ मन्त्रालयमा निर्भर हुनुपर्ने अवस्थाप्रति प्रश्न उठाएका छन्। उनले गणतन्त्र आए पनि बजेट बाँडफाँटमा ‘दरबारको व्यवहार’ कायमै रहेको व्यंग्य गरेका छन्।

‘गणतन्त्र आए पनि दरबार उस्तै, मुकुट फेरियो, व्यवहार उस्तै। मन्त्री धेरै, अधिकार एउटै, राजा एउटै रंक धेरै,’ भाटले लेखेका छन्।

कवितामा उनले अर्थ मन्त्रालयको बजेटमाथिको अधिकारलाई ‘सिंहासन’को संज्ञा दिँदै त्यसको शक्ति अस्थायी हुने र जनताको मूल्याङ्कन स्थायी हुने चेतावनीसमेत दिएका छन्।

‘बजेटको सिंहासन अस्थायी हो, जनताको अदालत स्थायी हो,’ उनले लेखेका छन्।

आजै बजेट आउँदै

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउन नसक्दा लामो समयदेखि प्रदेश सरकारको कामकारबाही प्रभावित हुँदै आएको छ।

बजेटलाई लिएर सरकारभित्रै असन्तुष्टि देखिएका बेला भौतिक पूर्वाधारमन्त्रीको पछिल्लो अभिव्यक्तिले सरकारभित्रको मतभेद थप सार्वजनिक भएको छ।

मन्त्री भाट र अर्थमन्त्री मल्ल एउटै प्रदेश सरकारमा रहे पनि बजेट व्यवस्थापन, स्रोत बाँडफाँट तथा मन्त्रालयगत योजनाका विषयमा देखिएको असन्तुष्टि भाटको अभिव्यक्तिमार्फत सार्वजनिक भएको हो। सुदूरपश्चिममा नेकपा र एमालेको संयुक्त सरकार छ। भाट नेकपाबाट र मल्ल एमालेबाट मन्त्री बनेका हुन्।

प्रदेश सरकारले आजै चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट सार्वजनिक हुनुअघि भौतिक पूर्वाधारमन्त्रीको यो अभिव्यक्तिलाई सरकारभित्र बजेट बाँडफाँटलाई लिएर देखिएको असन्तुष्टिको सार्वजनिक संकेतका रूपमा हेरिएको छ।

भाटको कविता

राजा र रंक

एउटा मन्त्रालयमा राजा जन्मिएछ,
अर्थको मुकुट शिरमा सजिएछ।
बाँकी मन्त्रीहरू रंक ठानिएछन्,
बजेटका लागि ढोकामा लाइन बसेछन्।

राजासँग चाबी छ कोषको,
राजासँग शक्ति छ भ्रमको।
अरू मन्त्री योजना बोकेर आउँछन्,
राजाको ढोकामा हात जोडेर फर्किन्छन्।

कसैको मन्त्रालय सडक माग्छ,
कसैको पुल, कसैको पानी,
राजा मुस्कुराउँदै भन्छन्,
पहिले हेरौँ, कति छ खानी!

गणतन्त्र आए पनि दरबार उस्तै,
मुकुट फेरियो, व्यवहार उस्तै।
मन्त्री धेरै, अधिकार एउटै,
राजा एउटै रंक धेरै!

तर इतिहासले एउटा कुरा लेख्छ,
राजा धेरै दिन राजा रहँदैन,
रंक सधैँ रंक रहँदैन।

बजेटको सिंहासन अस्थायी हो,
जनताको अदालत स्थायी हो।