काठमाण्डु- आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण पूर्वाधार, ऊर्जा, पर्यटन र यातायात क्षेत्रका योजना समेटिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने घोषणा गरे।
बजेटमा एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविधुत आयोजनालाई अधिकार सम्पन्न प्राधिकरणको ढाँचामा अगाडि बढाइने उल्लेख गरिएको छ। बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा जलाशययुक्त जलविधुतआयोजना,म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ। निर्माणाधीन तनहुँ जलाशययुक्त जलविधुत आयोजनाको कामलाई समेत तीव्रता दिइने भएको छ।
यातायात पूर्वाधारतर्फ पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–दमौली–पोखरा सडकखण्ड शीघ्र सम्पन्न गरिने र सिद्धार्थ राजमार्गलाई अन्तरराष्ट्रियस्तरको सडकमा रूपान्तरण गर्ने बजेटमा उल्लेख छ। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ।
पर्यटन प्रवर्द्धनका लागि कालीगण्डकी क्षेत्रलाई तीर्थाटन तथा उद्यमशीलतामा आधारित ‘गण्डकी चतुर्भुज’का रूपमा विकास गरिने भएको छ। त्रिवेणीधाम देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदरकुण्डलाई जोडेर शालिग्राम पथ निर्माण गरिने घोषणा गरिएको छ।
त्यसैगरी लुम्बिनी मुक्तिनाथ धार्मिक तथा सांस्कृतिक मार्गमा आधारित ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने भएको छ। यसमार्फत ध्यान, योग, साधना तथा हिमाली सांस्कृतिक पर्यटनलाई एकीकृत गरिने जनाइएको छ।
पोखरा उपत्यकामा सार्वजनिक यातायातलाई विधुतीय बसमार्फत प्रतिस्थापन गर्न इ–मोबिलिटी सेवा सुरु गरिने बजेटमा उल्लेख छ। साथै पोखरा, काठमाडौँ र विराटनगरमा तीन वर्षभित्र दुई हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने योजना सार्वजनिक गरिएको छ।
सरकारले खप्तड रामारोशन बढिमालिका बूढीनन्दा रारा स्वर्गद्वारी हुँदै मुक्तिनाथ जोड्ने ‘डाँफे रुट’ नामक उच्च पहाडी पर्यापर्यटन पदमार्ग विकास गर्ने घोषणा गरेको छ। अपि हिमाल, दोर्दी हिमाल तथा सिकलेस कहुपुचे मनाङ जोड्ने पदमार्ग पनि निर्माण गरिने भएको छ।
कास्की र तनहुँ क्षेत्रमा विभिन्न साइकल ट्रेल मार्ग विकास गरिने तथा देवघाट मुक्तिनाथ तिलिचो जोड्ने प्रादेशिक पर्यटकीय करिडोर निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ।
स्वास्थ्य पर्यटन प्रवर्द्धनका लागि पोखरास्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने भएको छ। मुस्ताङ र मनाङका ऐतिहासिक गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने सरकारको योजना छ।
त्यसैगरी गोरखामा रहेको गोरखकाली रबर उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी सार्वजनिक निजी साझेदारी मोडेलमा पुनः सञ्चालनको प्रक्रिया आगामी वर्षभित्र पूरा गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।




प्रतिक्रिया