खुम्चिँदै राजस्व : आम्दानीभन्दा खर्च धेरै


काठमाडौँ – कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि सुस्ताएपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले गर्ने आम्दानीमा देखिएको छ । सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीका कारण कर राजस्व सङ्कलन प्रभावित बनेपछि सरकारी ढुकुटी निकै खुम्चिएको छ ।

सरकारी आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३१ गतेसम्म छ खर्ब ४५ अर्ब ७० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदासम्म भएको उक्त राजस्व सङ्कलन लक्ष्यको केवल ५८.०७ प्रतिशत मात्र हुन आउँछ ।

सङ्कलित राजस्वमध्ये पाँच खर्ब ८६ अर्ब रुपियाँ कर राजस्व रहेको छ । चैतयता कर सङ्कलन गर्न नपाएको सरकारले पछिल्लोपटक जेठ २५ गते फागुनदेखिको कर विवरण र राजस्व दाखिला गर्न करदातालाई आग्रह गरेको थियो । यद्यपि निजी क्षेत्रबाट कर तिर्नुपर्ने समयमा गुनासो बढेपछि सरकारले असार ७ सम्मको समय तोकेको थियो । सरकारले उपलब्ध गराएको उक्त समयमा मुद्दा परेपछि सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको एक महिनाभित्र मात्र कर उठाउने अन्तरिम आदेश जारी गरेपछि सरकारका तर्फबाट अर्थ मन्त्रालय आदेश खारेजीको माग गर्दै अदालत गएको छ ।

अहिलेसम्म सङ्कलित राजस्वमध्ये गैरकर राजस्व करिब ६० अर्ब रुपियाँ पुगेको छ । अनुदानबापत सरकारले १० अर्ब ४९ करोड रुपियाँ प्राप्त गरेको छ । त्यस्तै अन्य प्राप्तिबापत ४४ अर्ब ६६ करोड रुपियाँ सरकारको आम्दानीमा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार जेठ ३१ सम्म सरकारको कुल आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

राजस्वसहित अनुदान र अन्य प्राप्तिसमेत जोड्दा जेठसम्म करिब सात खर्ब रुपियाँ सरकारी खातामा जम्मा भएको देखिए पनि खर्च भने आठ खर्ब ७६ अर्ब रुपियाँ नाघिसकेको छ । अर्थात आम्दानीभन्दा सरकारको खर्च एक खर्ब ७६ अर्ब रुपियाँ बढी भइसकेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement