आगामी बजेटमा देखिएला दुईतिहाइको जादु ? प्रधानमन्त्री ओली ढुक्क !


काठमाडौं – संसदमा दुईतिहाइ बहुमत पाएर बनेको सरकारले गत वर्ष जेठ १५ गते ल्याएको बजेटपछि अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना भयो ।

प्रतिनिधिसभा बैठकमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले अर्थमन्त्री खतिवडाको आलोचना गर्दै राजीनामा समेत मागे । कारण थियो – निर्वाचनका बेला वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने भनेर गरिएको घोषणा कार्यान्वयन नहुनु ।

शक्तिशाली भनिएपनि पटक–पटक आलोचना खेप्नुपरेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार वृद्धभत्ता नबढाएका कारण समेत वर्षभरि आलोचित बन्यो । नेकपाबाट निर्वाचित सांसदलाई गाउँघरमा गएको बेला सोधिने प्रश्न समेत बन्यो वृद्धभत्ता ।

आगामी आर्थिक वर्षका लागि बजेट आउन अब डेढ महिना मात्रै बाँकी छ । जेठ १५ गते संघीय बजेट संसदमा पेश हुनुपर्ने भनेर संविधानमै प्रावधान गरिएको छ । सरकारी निकाय र अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहेको छ । गत वर्षको बजेट ल्याएका अर्थमन्त्री डा. खतिवडा यसपालि वृद्धभत्ता बढाउँलान् त ? वृद्धभत्ता बढेर ५ हजार नै पुग्ला कि थोरै मात्र बढ्ला ? ज्येष्ठ नागरिकमा यी प्रश्न अझै अनुत्तरित छन् ।

वृद्धभत्ताबारे विपक्षीले समेत पटक–पटक ओली सरकारलाई घेर्ने गरेको छ । तर आगामी बजेटमा वृद्धभत्ता बढ्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षसँगै घोषणा गरेका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य बिमा राष्ट्रिय अभियानको शुभारम्भ र ‘खोलौं बैंक खाता अभियान’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो बुढाबुढीको भलो चिताउने सरकार हो । यसपालिको बजेटमा वृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।’

‘पहिला पहिला बुढाबुढीलाई कति वर्ष पुग्नुभयो भन्दा ६८ वर्ष पुगियो । अब कति बाँचिएला र भन्थे,’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला वृद्धभत्ता पाउन अब दुई वर्ष बाँकी छ भन्छन् । वृद्धवृद्धाहरूमा जीवनप्रतिको आशा बढेको छ ।’ प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए ।

ओली सरकारको पहिलो बजेटमा आकर्षक र लोकप्रिय कार्यक्रम घोषणा भएका थिएनन् । निर्वाचनमा लोकप्रिय नारा दिएर झण्डै दुईतिहाइ बहुमत ल्याएको नेकपा सरकारको ‘सामान्य’ बजेटबाट सर्वसाधारणमा निराशा हुनु स्वभाविक पनि थियो । आगामी बजेटमा त्यो निराशालाई हटाएर आशा जागृत गर्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको छ । अर्थमन्त्री डा. खतिवडाले सत्तारुढ सांसदको भावना र सरकारी आवश्यकतालाई बुझेर आगामी बजेट ल्याउन सक्लान् ?

ओली सरकार बनेको एक वर्षको बीचमा मन्त्रीहरू फेरबदल हुने चर्चा पनि चल्यो । अर्थमन्त्री खतिवडाले राम्रो काम गर्न नसकेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने माग समेत सत्तारुढ सांसदले राखेका थिए । गैरराजनीतिक व्यक्तिलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै पार्टीभित्र शुरूदेखि नै अर्थमन्त्रीको नियुक्ति विवादित समेत भयो । अर्थमन्त्री डा. खतिवडाले डेढ महिनापछि ल्याउने आगामी बजेट उनको यो कार्यकालको अन्तिम बजेट हुनेछ ।

राष्ट्रियसभा सदस्य नियुक्त भएर अर्थमन्त्री बनेका खतिवडाको दुई वर्षसम्म मात्रै सदस्य हुन पाउने गरी चिठ्ठा परेको थियो । उनको २ वर्ष आगामी आर्थिक वर्षभित्रै सकिने छ । उनको राष्ट्रियसभा सदस्य पदावधि समाप्तिसँगै अर्थमन्त्रीको पद समेत गुम्ने छ ।

विज्ञ अर्थमन्त्री भनेर चिनिने डा. युवराज खतिवडाले जनस्तरमा स्थापित हुने गरी आफ्नो छवि देखाउने अन्तिम अवसर आगामी बजेट नै हो । आगामी बजेटमा लोकप्रिय र आकर्षक कार्यक्रम ल्याउन नसके अर्थमन्त्री खतिवडाको क्षमतामाथि सदैव प्रश्नचिह्न लागिरहने छ भने सायद उनले क्षमता देखाउने अवसर समेत नपाउन सक्छन् । यी सबै अवस्था बुझेका अर्थमन्त्री डा. खतिवडाले ल्याउने बजेट अर्थपूर्ण हुने आकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement