पाँच महिनामा विद्युत चुहावट ७.४९ प्रतिशतमा झर्यो


काठमाण्डु- नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा विद्युत चुहावाटमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको हाे ।

नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मकाे वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष एक दशमलव ७४ प्रतिशत बिन्दुले घटाइएको छ । गत वर्ष मंसिरसम्मकाे वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव २३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १० दशमलव ८६ प्रतिशत थियो ।

चालू आवको मंसिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकामा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ । एकतीस करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ । मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मङ्सिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य पाँच प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई आठ दशमलव पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकामा अहिले घटाएर सात दशमलव ४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको जानकारी दिए ।

प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टोली परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

“यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककामा सञ्चित रहेको युनिट विलिङ हुँदा चुहावट घटेको हो”, घिसिङले भने ।

हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारवाही, ओभरलोड भएका सबस्टेसन र फिडर लाइनको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा देखिएको उनको भनाइ छ ।

जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्नसक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए ।

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement