‘बुँगुरको मासु नखाँदा सेनाको जागिर गयो’ भन्ने समाचार भ्रामक र तथ्यहिन भएको नेपाली सेनाको दावी


नेपाली सेनाले मासु नखाँदा नेपाली सेनाको जागिर गयो भन्ने शिर्षकको समाचारको खण्डन गरेको छ । नागरिक न्युज डटकम र नयाँखोज२४ डटकमले प्रकाशित गरेको सो शिर्षकको समाचारमा नेपाली सेनाको ध्यानाकर्षण भएको भन्दै उक्त समाचार भ्रामक र तथ्यहिन भएको जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक प्रेस नोट जारी गर्दै यस्ता भ्रामक समाचारको विश्वास नगर्न पनि पाठकलाई अनुरोध गरेको छ ।

समाचारमा बांके जिल्लाको राँझास्थित श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले बुँगुरको मासु नखाँदा जागिर गुमाउनुपरेको बताइएको थियो । तर नेपाली सेनाले खाँले आफ्नो मर्जीले राजिनामा दिएको बताएको छ ।

प्रेस नोटमा भनिएको छ, ‘नेपाली सेना आफैंमा एक समावेशी संगठन भएकाले सम्पूर्ण भाषा, भाषी, जात जातिका व्यक्तिहरुको धर्म, संस्कृति, रितिरिवाज तथा परम्पराको सधै उच्च सम्मान गर्दै आईरहेको र सो सन्दर्भमा नेपाली सेनाको स्विकृत स्केलमा प्राप्त कुखुरा तथा खसीको मासु तथा अण्डा नखाने साकाहारी सकलदर्जालाई उक्त स्केल बराबरको रकमबाट फलफुल, दुध÷दही जस्ता खाद्य वस्तुको व्यवस्था हुने गरेकोबाट कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको स्पष्ट नै रहेकोले पनि भान्छामा पाकेको बंगुरको मासु नखाँदा जागिर गयो भन्ने आशयको समाचार आधारहीन र कपोलकल्पित भएको स्पष्ट हुन्छ ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘सिलसिलेवार पेश गरेको राजिनामाको कागजाद अनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दवाव र योजनाबाट जागिर गएको’ भनि प्रेष्ति तथ्यहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा अनुरोध गरेको छ । ’
नेपाली सेनाले यस्ता आधारहीन र अतिरञ्जित समाचारबाट सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने वास्तविकता तर्फ सम्बन्धित सबलाई सम्वेदनशील हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement