सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरी सदरमुकाममै


बैतडी – सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्ने उद्देश्यसहित आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ । गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाट नगई सदरमुकाम गढीमा स्थापना भएको हो ।

सरकारले सबै जिल्लामा सशस्त्रको उपस्थिति गराउने निर्णयानुसार यहाँ पहिलोपटक गुल्म स्थापना गरेको छ । सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयबाट सीमामा बस्नका लागि अनुमति दिन ढिलाइ हुंदा सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले जानकारी दिए ।

शुरुका केही दिन झुलाघाटमा बस्नको लागि घर नमिलेकाले सदरमुकाममै बस्नुपरेको र अनुमति दिनासाथ सीमामा सारिने उनले बताए । गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने नायब उपरीक्षक पन्तले बताए । सो गुल्ममा तत्कालका लागि १६० जनशक्ति रहने भएको छ ।

कार्यालय स्थापनासँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुल दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय रहेको उनले बताए ।

केही दिनमै सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । नाकामा सशस्त्र प्रहरी खटाउन सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको टोलीले सीमा नाकाको निरीक्षणसमेत गरिसकेको छ । सशस्त्रको उक्त गुल्म अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement